विवाहपञ्चमी महोत्सव अन्तर्गत तेस्रो दिन आज धनुष यज्ञ सम्पन्न भएको छ। जनकपुरधामको जानकी मन्दिरमा जारी सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवको तेस्रो दिन आज भगवान् रामको स्वरुपमा रहेका किशोरले धनुष तोडेका हुन्।
त्रेतायुगमा मिथिला नरेश राजर्षि जनकले आफ्नी छोरी जानकीको विवाहका लागि धनुष यज्ञ गरेको स्मरणमा यहाँ हरेक वर्ष महोत्सव हुँदै आएको छ।
यस वर्ष पनि महोत्सवका कार्यक्रम सञ्चालनमा रहेका छन् भने त्यही क्रममा आज धनुष यज्ञ मनाइएको हो। त्रेतायुगमा राजा जनकले आफ्नी छोरी सीतासँग विवाह गर्नेले शिवको धनुषमा प्रत्यन्चा चढाउन सक्नुपर्ने प्रण लिएका थिए।
त्यसका लागि आयोजित सभामा सहभागी अरु कसैले प्रत्यन्चा चढाउन नसकेपछि भगवान् रामले त्यो काम गर्न खोजेपछि धनुष तीन टुक्रा भएको इतिहास छ।
त्यसपछि मात्रै सीता र रामबीच विवाह भएको वाल्मीकि रामायणमा उल्लेख रहेको छ। अब आइतबार राम मन्दिरमा तिलकोत्सव कार्यक्रम हुनेछ।
तिलकोत्सव कार्यक्रममा जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णव सीताका बुबा र राम मन्दिरका महन्थराम गिरी रामका बुबाको भूमिका निर्वाह गर्दै सम्धी मिलन गर्नेछन्।
विवाहपञ्चमी महोत्सवका लागि जानकी मन्दिरलाई बेहुली झैँ सिँगारिएको छ। विवाहपञ्चमी महोत्सव हेर्न नेपाल तथा भारतका साधुसन्तसहित लाखौँ श्रद्धालु जनकपुरधाम आउने गरेका छन्।
सप्ताहव्यापी श्रीसीताराम विवाहपञ्चमी महामहोत्सवअन्तर्गत आज धनुष यज्ञ, आइतबार तिलकोत्सव, सोमबार मटकोर, मङ्गलबार स्वयंवर तथा शुभ विवाहोत्सव र मङ्सिर १० गते बुधबार अन्तिम दिन रामकलेवा गर्दै महोत्सव समापन गरिनेछ।
प्रकाशित: ६ मंसिर २०८२ २१:३६ शनिबार





