२० कार्तिक २०८३ शुक्रबार
image/svg+xml
धर्म/संस्कृति

मिठाईको गुणस्तर र मिसावट नियन्त्रणमा चुनौती

नेपालीको दोस्रो ठूलो महान चाड तिहारमा विभिन्न प्रकारका मिठाइको कारोबार हुन्छ। कात्तिक २१ गते कागतिहारको दिनबाट सुरु हुने तिहारका लागि बजारमा मिठाइको कारोबार बढ्न थालेको छ। यमपञ्चकको पहिलो दिन कात्तिक २१ गते काग तिहार, कात्तिक २२ गते कुकुरतिहार तथा लक्ष्मीपूजा, कात्तिक २३ गते गाईपूजा, कात्तिक २४ गते गोवद्र्धन पूजा तथा म्हःपूजा र कात्तिक २५ गते भाइटीका मनाइनेछ।

लक्ष्मीपूजा, भाइटीका तथा देउसी–भैलोका अवसरमा प्रसाद, सगुन र उपहारका रूपमा मिठाई प्रयोग गर्ने चलनका कारण मिठाइका पसलहरूमा चहलपहल बढेको छ। तिहारलाई लक्षित गरेर मिठाई उद्योग तथा पसलहरूले विभिन्न प्रकारका मिठाई उत्पादन र बिक्रीको तयारी तीव्र बनाएका छन्।

तिहारमा विशेषगरी बर्फी, पेडा, लालमोहन, रसबरी, गुलाब जामुन, लड्डु, रसमलाई, काजु कतली, दूधवरीलगायत मिठाइको माग बढी हुने गर्छ। लक्ष्मीपूजामा प्रसादका रूपमा मिठाई चढाउने र भाइटीकाको दिन दाजुभाइलाई सगुन दिने परम्पराले यस अवधिमा मिठाइको कारोबारलाई विशेष महत्त्व दिइने गरेको छ।

बाढीपहिरोको विपत्तिको प्रभावका कारण विगतका वर्षहरूमा जस्तो यसवर्षको तिहारमा मिठाइको कारोबार नभएको सम्बन्धित व्यवसायीको भनाइ छ। व्यवसायीकाअनुसार चाडपर्व लक्षित बजार गतिविधि र मिठाई पसलमा बढेको तयारीले व्यापारको मुख्य सिजन सुरु भएको छ।

मिठाई व्यवसायीका लागि तिहार वर्षकै सबैभन्दा बढी कारोबार हुने महत्त्वपूर्ण व्यापारिक अवसर मध्ये एक हो। सामान्य दिनको तुलनामा तिहारको समयमा मिठाइको बिक्री उल्लेख्य रूपमा बढ्ने गरेको छ। विशेषगरी लक्ष्मीपूजा र भाइटीकाको अघिल्लो दिन तथा चार्डपर्वकै दिन मिठाइको माग उच्च हुने गर्छ।

लक्ष्मीपूजामा घर तथा व्यापारिक प्रतिष्ठानमा पूजा गरेपछि प्रसाद वितरण गर्ने चलन छ। त्यस्तै भाइटीकामा दिदीबहिनीले दाजुभाइलाई टीका लगाएर मिठाई तथा अन्य परिकार दिने चलन छ। यही कारण मिठाई पसलहरूले तिहार आउनुभन्दा केही दिनअघिदेखि नै उत्पादन बढाउने र ग्राहकको मागअनुसार प्याकिङ गर्ने व्यवस्था मिलाएका छन्।

पछिल्लो समय परम्परागत मिठाईसँगै आकर्षक प्याकिङमा तयार गरिएका विभिन्न प्रकारका उपहार प्याकेटको माग पनि बढेको छ। व्यक्तिगत ग्राहकसँगै कार्यालय, कम्पनी तथा संस्थाले समेत कर्मचारी र व्यावसायिक साझेदारलाई उपहार दिन मिठाई खरिद गर्ने गरेका छन्।

मिठाई उत्पादनमा प्रयोग हुने काजु, बदाम, पिस्ता, किसमिस, नरिवललगायत कच्चा पदार्थको मूल्य र आपूर्तिले पनि बजारलाई प्रभावित पार्ने गरेको छ। विशेषगरी काजु, पिस्ता र बदाम प्रयोग हुने प्रिमियम मिठाईको उत्पादन लागतमा यसको प्रत्यक्ष प्रभाव पर्छ।

 भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि असोजसम्म मिठाईमा प्रयोग हुने विभिन्न प्रकारका ड्राइफ्रुट्स आयातमा तीन अर्ब रुपैयाँभन्दा बढी बाहिरिएको छ। तिहारमा भाइमसलाका साथै मिठाई उत्पादनमा समेत प्रयोग हुने यस्ता सामग्रीको आयातले नेपाली बजार विदेशी आपूर्तिमा निर्भर रहेको भन्सार विभागले जनाएको छ।

पिस्ता, काजु र बदामको मूल्य बढ्दा काजु कतली, ड्राइफ्रुट्स बर्फी तथा अन्य महँगा मिठाईको उत्पादन लागत पनि केही बढ्ने सम्बन्धित व्यवसायीले बताएका छन्। व्यवसायीका अनुसार विगतका वर्षहरूको तुलनामा यसपालि सबै प्रकारका मिठाईको मूल्य केही बढेको छ। दूध, खुवा, चिनी, घिउ तथा अन्य कच्चा पदार्थको लागतअनुसार विभिन्न मिठाईको मूल्य निर्धारण हुनेगर्छ।

मिठाई बजारको अनुगमन तीव्र

यस वर्ष मिठाई बजारको अर्को महत्त्वपूर्ण विषय खाद्य स्वच्छता र गुणस्तर बनेको छ। तिहारमा मिठाईको खपत बढ्ने समयमा अखाद्य वस्तुको प्रयोग, मिसावट, म्याद गुज्रिएका सामग्री तथा अस्वस्थकर उत्पादनको जोखिमलाई ध्यान दिँदै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले अनुगमन तीव्र बनाएको छ।

जसका लागि विभागले गत कात्तिक ११ गतेदेखि नै लागु हुने गरी मिठाई व्यवसायीलाई आफूले बिक्री गर्ने मिठाईको नाम, मुख्य कच्चा पदार्थ, प्रयोग गरिएको तेल वा घिउको प्रकार, उपभोग गर्नुपर्ने अन्तिम मिति र प्रतिकिलो मूल्य स्पष्ट रूपमा खुलाउन निर्देशन दिएको छ।

विभागको अनुगमनसम्बन्धी पछिल्लो विवरणअनुसार देशभर ४९७ मिठाई पसलको विशेष अनुगमन गरिएको छ। तीमध्ये ४३३ पसललाई सुधारका लागि निर्देशनपत्र दिइएको छ भने २२२ पसलले आवश्यक विवरणसहितको लेबल राख्ने व्यवस्था कार्यान्वयन गरिसकेका छन् ।  

प्रदेशगत रूपमा निर्देशन पाउने पसलमध्ये कोसीमा ८४, मधेसमा ५६, बागमतीमा ५३, लुम्बिनीमा १७५, गण्डकीमा २६, कर्णालीमा २४ र सुदूरपश्चिममा १५ वटा छन्।

विभागका महानिर्देशक सञ्जीवकुमार कर्णले यस्तो जानकारी गराएका हुन्। कर्णकाअनुसार देशभरका ३० वटा कार्यालयबाट खाद्य निरीक्षक परिचालन गरी स्थानीय तह, जिल्ला प्रशासन कार्यालय र वाणिज्य विभागसँगको समन्वयमा अनुगमन भइरहेको छ। मापदण्ड पालना नगर्ने व्यवसायीमाथि खाद्य ऐन र उपभोक्ता संरक्षणसम्बन्धी कानुनअनुसार कारबाही तथा जरिबाना गर्ने तयारीसमेत विभागले गरेको छ।

मिठाईको माग उच्च हुने चाडपर्वमा केही व्यवसायीले बढी नाफा कमाउने उद्देश्यले गुणस्तरमा सम्झौता गर्ने जोखिम रहन्छ। विगतका अनुगमनमा पटकपटक प्रयोग गरिएको तेल, अखाद्य रङ, अस्वच्छ वातावरणमा उत्पादन तथा भण्डारण गरिएका मिठाई भेटिएका घटनाले उपभोत्तामा थप चिन्ता बढाएको छ।

तिहारकै अवसरमा गत वर्ष काठमाडौं उपत्यकाका ५३ वटा ठूला मिठाई पसलमा गरिएको अनुगमनमा समेत विभिन्न खाद्य स्वच्छतासम्बन्धी कमजोरी भेटिएको थियो। यसले मिठाई बजारमा नियमित अनुगमन र प्रभावकारी नियमन आवश्यक रहेको विभागले जनाएको छ।  

सोही कारण विभागले यसपालिको तिहारमा पनि बजार अनुगमनलाई तीव्र बनाएको बताएको छ। विभागले यस वर्ष मिठाईमा प्रयोग भएको कच्चा पदार्थ र उपभोग्य मिति अनिवार्य खुलाउनुपर्ने व्यवस्था गरेपछि उपभोक्तालाई आफूले खरिद गर्ने सामग्रीबारे जानकारी प्राप्त गर्न सहज हुने अपेक्षा गरिएको छ।

तिहारको बेला व्यावसायिक मिठाईसँगै सेलरोटी, अनरसा, लाखामरी, खजुरी, फिनी तथा अन्य परम्परागत परिकारको माग पनि बढ्ने गरेको छ। विशेषगरी घरमा बनाउन समय नहुने परिवारले बजारबाट तयारी परिकार खरिद गर्ने क्रम बढेको छ।

पछिल्लो समय महिला उद्यमी तथा साना घरेलु उद्योगले समेत तिहारलाई लक्षित गरेर सेलरोटी तथा परम्परागत परिकार उत्पादन र बिक्री गर्न थालेका छन्। यसले मिठाई बजारसँगै घरेलु खाद्य उद्योग र स्वरोजगारमा समेत अवसर सिर्जना गरेको सम्बन्धित व्यवसायीको भनाइ छ।

तिहार मिठाई व्यवसायीका लागि राम्रो आम्दानी गर्ने अवसर भए पनि यस वर्ष बजारको वास्तविक कारोबार कस्तो हुन्छ भन्नेबारे उपभोक्ताको खर्च गर्ने क्षमता, कच्चा पदार्थको मूल्य र बिक्रीको अवस्थाले निर्धारण गर्नेछ।

 एकातिर मिठाइको माग बढ्ने अपेक्षा छ। अर्कोतिर महँगी र उपभोक्ताको क्रयशक्तिले खरिद परिमाणमा प्रभाव पार्न सक्छ। व्यवसायीले गुणस्तरीय उत्पादन, उचित मूल्य र स्वच्छतामा ध्यान दिन सके मात्रै बजारप्रति उपभोक्ताको विश्वास बढ्न सक्छ।

तिहारको मिठासलाई व्यापारिक नाफामा मात्र सीमित नराखी सुरक्षित खाद्य सामग्री उपलब्ध गराउने अवसरका रूपमा लिनुपर्ने आवश्यकता छ । उपभोक्ताले पनि मिठाई खरिद गर्दा उत्पादनमा प्रयोग भएका सामग्री, तेल वा घिउको प्रकार, उत्पादन तथा उपभोग्य मिति र मूल्य जाँच गरेर मात्रै खरिद गर्नु उपयुक्त हुने विभागले जनाएको छ।

तिहारमा मिठाईको व्यापार विस्तारसँगै गुणस्तर र खाद्य सुरक्षाको विषय पनि उत्तिकै महत्त्वपूर्ण बनेको विभागको दाबी छ। चाडपर्वको खुसीसँगै उपभोक्ताको स्वास्थ्य सुरक्षित राख्न व्यवसायी, नियामक निकाय र उपभोक्ता तीनै पक्ष जिम्मेवार बन्नुपर्ने विभागको भनाई छ।  

अहिले न्युरोड र इन्द्रचोकमा तिहारको चहलपहल बढेको छ। हाल ग्राहक तान्न पसलपिच्छे सेल तथा आकर्षक छुट अफर राखेका छन्। इन्द्रचोक र न्युरोड क्षेत्रमा किनमेलको चहलपहल पनि देख्न सकिन्छ। व्यवसायीले पसलहरू बत्तीले सजाउन थालिसकेका छन्।

प्रकाशित: २० कार्तिक २०८३ ०९:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App