तिथिअनुसार साउनको पहिलो सोमबार तौलिहवास्थित प्राचीन तौलेश्वर नाथ महादेव मन्दिरमा हजारौं श्रद्धालु भक्तजनले जलार्पण गरेका छन्। गुरुपूर्णिमादेखि साउन महिना सुरु भएको छ। भक्तजनले बाणगंगा नदीको रामघाट (भागिरथी नदी) मा स्नान गरी सो मन्दिरमा जलार्पण गरेका हुन्।
आइतबार राति नदी किनारमा भजन, कीर्तन, नाचगान गरी उनीहरूले महादेवलाई नदीको जल सोमबार बिहान अर्पण गरे। जलार्पणका लागि जिल्लाका विभिन्न स्थानबाट हजारौं तीर्थयात्री तौलिहवा पुगेका छन्। साउनको पहिलो सोमबार जलार्पण यात्रामा भक्तजनको ठूलो भीड लाग्यो।
आराध्य देव शिवको प्रिय महिना साउन, विशेषगरी सोमबार स्नान गरी शिव मन्दिरमा जलार्पण गर्दा पाप नाश भई पुण्य प्राप्त हुने भक्तजनको विश्वास छ। साउनको सोमबार व्रत बसी जलार्पण गर्दा मनोकामना पूरा हुने भन्दै उनीहरू जलार्पण यात्रामा सहभागी भए।
सदरमुकामदेखि ५ किमी टाढा रहेको नदीबाट भक्तजन र बालबालिकाले जल लिएर ‘बोल बम’ भन्दै मन्दिरमा गई जलार्पण गरे। साउन महिनाको सोमबारका लागि स्थानीय प्रशासनले विशेष सुरक्षा व्यवस्था मिलाएको थियो।
गाउँगाउँबाट जलयात्रामा साना बालबालिकादेखि युवा, महिला र वृद्धले पहेंलो वस्त्र धारण गरी काँधमा कावर बोकेर सहभागिता जनाए। मन्दिरमा भक्तजनलाई विभिन्न संघसंस्था र व्यक्तिले प्रसादको व्यवस्था गरे। साउन महिनामा मन्दिरमा हुने भक्तजनको चापलाई ध्यानमा राखी विशेष प्रबन्ध मिलाइएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष शिवकुमार गुप्ताले बताए।
डेढ दशकअघिदेखि बोलबम काँवर जलयात्रा समिति फुलिकाले जलार्पण कार्यक्रमको अगुवाइ गर्दै आएको छ। साउन महिनाको बोलबम जलयात्राका लागि मन्दिर र रामघाटमा गरी दुई छुट्टै समिति बनाइएको मन्दिर व्यवस्थापन समितिका सचिव हरिशचन्द्र श्रीवास्तवले बताए। भक्तजनका लागि मन्दिर र रामघाट नदीमा बस्ने, खाने र भजनकीर्तनका लागि व्यवस्था गरिएको उनले बताए।
जलयात्रामा भारतका विभिन्न शहरसहित रूपन्देही, दाङ, नवलपरासी, अर्घाखाँची लगायतका स्थानबाट भक्तजन आए। कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेलले नगरपालिकाले भक्तजनको सुविधालाई ध्यानमा राखी लाइटिङसहित अन्य व्यवस्था गरिएको बताए। साउनको पहिलो सोमबार ५ हजारभन्दा बढीले जलार्पणमा सहभागिता जनाएको प्रहरीले जनाएको छ।
प्रकाशित: ३० असार २०८२ १३:४५ सोमबार

