१४ जेष्ठ २०८३ बिहीबार
image/svg+xml
धर्म/संस्कृति

इस्लाम समुदायमा बकरिद रौनक

नेपालगन्ज–३, एकलैनीकी साहिदा साहको घरमा बकरिदको रौनक छ। ‘इद–उल–अजहा’ अर्थात् बकरिद मनाउन आफन्तहरू घरमा जम्मा भइसकेका छन्। अल्लाह (भगवान्) लाई कुर्बानी (बलि) दिने खसी पनि तयार गरिएको छ। टोलछिमेकमा पनि बेग्लै खालको रौनक देखिन्छ। बकरिदका लागि आफन्त र साथीहरुलाई उनको परिवारले निम्तो (दावत्) दिइसकेको छ।

हरेक वर्ष बकरिदमा साहिदाले गैरमुस्लिम समुदायका साथीहरुलाई पनि घरमा बोलाउँछिन्, र उनी पनि दसै, दिपावली, होली जस्ता चाडपर्वमा हिन्दु समुदायका साथीहरुको घरमा निम्ता मान्न जान्छिन्। सामाजिक अगुवा साहिदा यस्ता चाडपर्वले आपसमा सद्भाव बढाउने विश्वास गर्छिन्। ‘हरेक दसैं, तिहार र होली जस्ता चाडमा हिन्दु समुदायका साथीहरूले मलाई निम्ता दिनुहुन्छ, इद, बकरिद र मोहर्रम जस्ता चाडपर्वमा हिन्दु समुदायका साथीहरूलाई मैले निम्ता दिन्छु, हामीहरू आपसमा मिलेर चाडहरु मनाउँछौं,’ उनी भन्छिन्, ‘चाडपर्व भनेको आपसी सद्भाव बढाउने माध्यम पनि हो।’

मुस्लिम अगुवाका अनुसार ‘इब्राहिम अले सलाम’ जसलाई सपनामा अल्लाह (भगवान्) बाट एउटा सन्देश आयो। अल्लाहले सपनामा उनलाई ‘आफ्नो सबैभन्दा प्रिय वस्तु मलाई कुर्बानी (बलि) देऊ भनेका थिए। त्यसपछि इब्राहिमले सपनामै आफ्ना छोरालाई कुर्बानी दिन शरीरमा छुरा रोपेका थिए। भोलिपल्ट विपनामा भने उनका छोरालाई केही भएन तर आफूसँग घरमा रहेको भेडा मर्‍यो। सोही घटनाको सम्झनामा मुस्लिम समुदायले बकरिद मनाउन थालेको बताइन्छ।

मुस्लिम समुदायमा यही पर्वको अवसरमा खसी, भेडा लगायत विभिन्न जनावरको बलि दिइन्छ र सेवईलगायतका परिकार बनाइन्छ। तीन दिनसम्म मनाइने बकरिदको अघिल्लो दिन ‘चाँद’ अर्थात् चन्द्रमा हेरिन्छ। त्यसपछि साँझ रोजा (ब्रत) बसिन्छ। भोलिपल्ट बकरिदका दिन बिहानै उठी नुहाएर शुद्ध भई शुद्ध कपडा लगाएर इदगाह वा मस्जिदमा पुगी सामूहिक नमाज पढिन्छ। नमाज पढेपछि आपसमा अंकमाल गरेर शुभकामना आदनप्रदान गरिन्छ। सामूहिक नमाज पढेर घरमा आइसकेपछि खसी, भेडा लगायतलाई बलि दिइन्छ। मुस्लिम समुदायले प्रयोग गर्ने उर्दु भाषामा खसीलाई ‘बक्रा’ भन्ने गरिन्छ। सोही आधारमा यस पर्वको नाम बकरिद रहन पुगेको मुस्लिम अगुवा बताउँछन्।

बलि दिएको खसीको मासुलाई तीन भागमा बाँडिन्छ। तीन भागमध्ये एक भाग घरमा अर्को भाग आफन्त तथा इष्टमित्र र अर्को भाग गरिब तथा असहायलाई बाँड्ने चलन छ। ‘घरमा खसीको कुर्बानी (बलि) दिएपछि आफन्त, इष्टमित्र, छोरीचेलीलाई बोलाएर खुवाउँछौं, यो चाड मनाउने क्रम तीन दिनसम्म चल्छ, तीन दिनसम्म हामी खसीको कुर्बानी दिन्छौं,’ नेपालगन्ज–११ का ८४ वर्षीय रसिद खाँले भने।

बकरिद मनाउने क्रममा आफूहरू आफन्त, इष्टमित्र, साथीकहाँ जाने र उनीहरुलाई पनि घरमा बोलाएर खुवाउने चलन रहेको खाँ सुनाउँँछन्। ‘बकरिद हाम्रो समुदायको दोस्रो ठुलो (तिउहार) चाड हो, यो कुर्बानीको पर्व पनि हो,’ उनले थपे।

उनका अनुसार इस्लाम धर्मशास्त्रमा बकरिदमा जो व्यक्ति आर्थिक रुपले सक्षम र सबल छ अर्थात् जसको बलियो हैसियत छ, उसलाई मात्र कुर्बानी गर्न छुट दिइएको छ तर गरिब तथा असहायका लागि कुर्बानी बाध्यकारी छैन। मुस्लिम समुदायका अनुसार अल्लाहलाई खुसी पार्नका लागि कुर्बानी गर्न थालिएको हो। ‘पछिल्लो समयमा कुर्बानी दिने नाममा आपसमा प्रतिस्पर्धा र देखासिकी गर्ने प्रवृित्त बढेको छ, सबैले घमण्ड त्याग्नुपर्छ, यो आत्मशुद्धिको पर्व पनि हो,’ नेपालगन्ज–११ का ६० वर्षीय मोहम्मद हुसेन भन्छन्, ‘आफूसँग भएका नराम्रा कुरालाई छाड्नुपर्छ भन्ने सन्देश यो पर्वले दिन्छ।’

मुस्लिम समुदायले बिहीबार बकरिद मनाउँदै छ।

प्रकाशित: १४ जेष्ठ २०८३ ०९:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App