संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले विश्वभरका हिन्दुहरूलाई सनातन धर्मको रक्षाका लागि एकजुट हुन आह्वान गरेका छन्।
उनले हालैको जनगणनाले हिन्दु धर्मावलम्बीको संख्यामा आएको कमीप्रति चिन्ता व्यक्त गर्दै धार्मिक र सांस्कृतिक परम्पराको निरन्तरता नै धर्म रक्षाको आधार हुने बताए।

शनिबार रौनियार संस्कृति पूजा समाजले आयोजना गरेको ‘श्री हनुमान आराधना’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘हिन्दु सनातन धर्म विश्वकै पहिलो धर्म हो। हालको जनगणनाले यसका अनुयायीको संख्या केही घटेको देखाएको छ, यो चिन्ताको विषय हो।’

मन्त्री गुप्ताले धार्मिक अनुष्ठान र पूजापाठ जस्ता सांस्कृतिक अभ्यासहरूले धर्मको जग बलियो बनाउने बताए। उनले थपे, ‘हाम्रो धर्ममा रहेका पूजापाठ र कर्मलाई निरन्तरता दिएरै धर्मको सुरक्षा गर्नुपर्छ। यो नेपालभित्रका मात्र नभई विश्वभरका हिन्दुहरूको साझा दायित्व हो।’

शनिबारको हनुमान आराधना कार्यक्रममा शोभा यात्रा, सत्यनारायण पूजा, सुन्दरकाण्ड पाठ, विभिन्न देवीदेवताको झाँकी तथा २१ किलोको लड्डु प्रसादका रूपमा वितरण गरिएको थियो।
रौनियार पूजन समाज नेपालले हिन्दु धर्मको सुरक्षा र जगेर्ना गर्न तिज, जितिया, होली, छठ, कृष्णाष्टमी, राम नवमी, सत्यनारायण पूजा, लगायतका पर्व परम्परा अनुसारको धार्मिक कार्य गर्दै आएको अध्यक्ष रञ्जित गुप्ताले बताए।
कार्यक्रममा मन्त्री गुप्तासहित रौनियार समुदायका सदस्यहरूको उल्लेख्य उपस्थिति थियो।
प्रकाशित: ३१ जेष्ठ २०८२ २१:३५ शनिबार