विश्वको जुनसुकै कुनामा पुगे पनि देशप्रति अगाध श्रद्धा हुन्छ, छ र रहिरहन्छ। देशप्रेमभित्र देशप्रतिको श्रद्धा, माया, नागरिक हुनुको गर्वबोध, सद्भाव, सद्विचार, सहयोगको भावना, सहिष्णुता, संस्कृतिको गौरव, प्राकृतिक सुन्दरताको मोह, जातीय एकताको भावना, देशको गौरवमय इतिहास, अखण्डताप्रतिको मोह, संस्कृति–मोह, भाषाप्रतिको प्रेमजस्ता कुरा समेटिएका हुन्छन्। हामी सबै मिलेर भाइचारा र मायाले बाँचौं भन्ने सन्देश देशवासीलाई दिन पनि देशप्रेम चाहिन्छ। देशका हरेक व्यक्तिले देशहितका लागि सोच्ने हो भने एक दिन देश बलियो र विकसित हुन्छ।
देशको संस्कृति व्यापक विषय हो। सबै देशका आआफ्नै संस्कृति हुन्छन्। यसलाई मानिसको समग्र जीवनपद्धतिको सापेक्षतामा मात्र बुझ्न सकिन्छ, किनभने संस्कृति मानव निर्मित वस्तु हो।
सुरुसुरुमा गास, बास र कपासको पूर्तिका लागि मानिसले अनेक तरहका व्यवहार गर्ने क्रममा सोहीअनुसारको वस्तु, खाना र पहिरनको निर्माण भयो। त्यसको निरन्तरता अनवरत छ र रहिरहने छ। यसका अतिरिक्त मनोरञ्जनमूलक संस्कृति, भक्ति र स्तुतिमूलक संस्कृतिको समेत विकास हुन पुग्यो। यसरी सरलताबाट प्रारम्भ भएको सांस्कृतिक परम्परा वर्तमान समयमा भने अत्यन्त जटिल बन्दै गएको पाइन्छ।
संस्कृतिलाई पहिले पहिले खानपिन, नाचगान, चाडपर्व, धर्मकर्म, वेशभूषा आदिका रूपमा मात्र बुझिन्थ्यो। वर्तमान समयमा भने संस्कृतिले व्यापक क्षेत्र ओगट्छ, जसलाई पालना गर्नु गराउनु देशप्रेम हो।
मानिस संस्कृतिविहीन भएर जन्मन्छ तर उसले बिस्तारै उमेर, विवेक, ज्ञान र रुचिअनुसारको संस्कृतिलाई अवलम्बन गर्दै जान्छ। यसका लागि सामाजिक गतिविधि र परम्पराले ठुलो प्रभाव पार्छ। आफू जन्मेको देश, त्यहाँको संस्कार र संस्कृतिको प्रभाव रहिरहन्छ र त्यसलाई जोगाउनु महत्त्वपूर्ण हुन्छ किनभने व्यक्ति–व्यक्ति मिलेर परिवार र परिवार परिवार मिलेर समाजको निर्माण हुन्छ। त्यसैले हरेक व्यक्ति समाजको अङ्ग हो भने समाज व्यक्ति र परिवारको सामूहिक रूप हो। त्यसैले कुनै पनि व्यक्ति सामाजिक गतिविधिबाट अलग रहेर बाँच्न सक्दैन।
फलतः उसमा समाजको गहिरो प्रभाव पर्छ। संस्कृति निरन्तर रूपमा परिवर्तन भइरहने हुनाले यसको स्वरूप र आयामलाई नियाल्न सहज छैन। जीवनयापनका क्रममा देखापर्दै जाने रहर, आवश्यकता, बाध्यता, अभाव, उन्नति, प्रगति तथा विकास र चेतनाका गतिले संस्कृतिलाई परिवर्तन गर्दै लाने हुनाले यसको गति र क्षतिलाई पहिल्याउन कठिन हुन्छ।
बसाइँसराइ, मिश्रित सामाजिक संरचना, आर्थिक अवस्था, विज्ञान र प्रविधिको विकास, बदलिँदो राजनीतिक परिवर्तन, विश्वव्यापीकरण आदिका कारण संसार सानो गाउँ भएको छ। विश्वको कुनै पनि कुनाको सूचना क्षणभरमा अर्को कुनामा पुग्छ। वर्तमान समयमा संसारभरमा मानिस विश्वका हरेक मुलुकमा छरिएर बसोबास गर्न थालेका छन्।
यसरी एउटा समाज वा मुलुकको संस्कृति तुरुन्तै अर्को समाज वा मुलुकमा पुग्छ। समयको गति तथा मानिसको चेतनाको विकाससँगै संस्कृतिको निर्माण हुँदै जान्छ। त्यसैले संस्कृति अझ व्यापक बन्दै गएको छ। संस्कृतिको स्वरूप विकासको गतिसँगै भिन्न रूपमा पैmलावट हुने हुनाले यसलाई व्याख्या, विश्लेषण गर्न सहज छैन।
प्राचीन समयमा एउटा निश्चित भूभागमा विद्यमान संस्कृति सोही ठाउँमा सीमित हुन्थ्यो भने आज कुनै पनि प्रख्यात संस्कृति तुरुन्तै विश्वभर फैलन पुग्छ। सांस्कृतिक प्रभाव विशेषतः शक्तिसम्पन्न राष्ट्रहरूको संस्कृतिको प्रभाव विपन्न राष्ट्रहरूमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा पर्ने गर्छ। यसरी हेर्दा के देखिन्छ भने वर्तमान समयमा संस्कृतिको स्वरूप व्यापक रूपमा विस्तारित भएको छ। हिजो चिठीपत्र लेख्ने हुलाकी संस्कृति, आकाशवाणी टेलिफोन, पेजर हुँदै मोबाइल संस्कृतिमा पुगेको छ।
यसरी नै चोक, बजार, मेला, हाटमा हेरिने सुनिने नाचगान, गीतसङ्गीत नाट्यशाला, सिनेमाघर टेलिभिजन हुँदै मोबाइल मार्फत हातहातमा आइपुगेको छ। विज्ञान र प्रविधिका कारण मान्छेका परम्परित संस्कृतिहरू विस्थापित भएर नयाँ नयाँ संस्कृतिको निर्माण हुन पुगेको छ। यसरी के भन्न सकिन्छ भने संस्कृतिले दिनानुदिन आफ्नो स्वरूपलाई निरन्तर परिवर्तन गरिरहेको छ।
यस्तै जुनसुकै राष्ट्रका निम्ति त्यहाँ बस्ने अधिकांश नागरिकले बोल्ने भाषा पनि अत्यावश्यक मानिन्छ। यस्तो भाषा त्यस राष्ट्रको राष्ट्रभाषा हुन्छ। जुनसुकै देशमा एउटै भाषाको मात्र बोलवाला हुनुपर्छ भन्ने छैन, तर पनि राष्ट्रिय एकताका निम्ति राष्ट्रमा एउटै मात्र राष्ट्रभाषा हुनु आवश्यक छ। भाषा राष्ट्रको प्रमुख अङ्गका रूपमा रहन्छ। शासनसंस्था वा सरकारलाई मानव मान्ने हो भने राष्ट्रभाषा त्यस मानवको मुखरूपी कर्मेन्द्रिय हो।
आपसमा सद्भाव तथा एकता कायम गर्न राष्ट्रभाषाले महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ। भाषाका माध्यमबाट देशप्रतिको प्रेम बढ्दै जान्छ। आफ्नो स्वतन्त्र राष्ट्रभाषाको अभावमा नागरिकहरूबिच राष्ट्रिय एकताको भावना क्रमशः शिथिल हुँदै जान्छ।
जातीयता एक सापेक्षित परिभाषित शब्द हो। बृहत्तम् अर्थमा यसले कुनै एक थरीको जाति तथा निश्चित भूगोलमा बसोबास गर्ने समुदाय भन्ने जनाउँछ। नेपाली जातीय शब्दले कुनै एक विशेष श्रेणी समूहको बोध गराउने हुनाले यस्तो जातीयतालाई साहित्यमा चित्रण गर्न सकिन्छ। यस्तो जातीयता भाषा, संस्कृति, वेशभूषा, रहनसहन, परम्परा र जीवनशैलीका आधारमा बेग्लाबेग्लै हुने हुनाले आफ्नो देशमा बसोबास गर्नेले जातीयताप्रति गर्व गर्छ। त्यहाँ देशप्रेमको भावना जोडिएर आएको हुन्छ।
नेपाली जातीय चेतनाले नेपाली भाषा, संस्कृति, सामाजिकता, अर्थनीतिसहित त्यो भाषाको प्रयोगकर्ताले निर्भीकतापूर्वक जीवनयापन गर्दै आफ्नो आकाङ्क्षालाई परिपूर्ति गर्दै लैजाने सम्पूर्ण परिवेशको बोध गराउँछ। यस्तै परिवेश र परिस्थितिमा साहित्यका माध्यमबाट जातीय गौरव गाथाको स्मरण, स्वअस्तित्वको चिनारी दिने हेतुले साहित्यकारहरूले जातीय सचेतता कायम राख्ने आग्रह आफ्ना रचनामा गर्छन्।
नेपाल धार्मिक सहिष्णुतासम्पन्न मुलुक हो। संविधानमा धर्म निरपेक्ष मुलुक भनी सम्बोधित छ। नेपालमा हिन्दु, बौद्ध, इस्लाम, इसाई, शिख, जैन आदि धर्मावलम्बीहरू बसोबास गर्छन्। यी सबै धर्मावलम्बीहरूले सबै धर्मलाई सम्मानसाथ आफ्नो कर्म गर्दै आएका छन्।
नेपाली समाजमा पनि आस्था, विचारधारा र शिक्षाको विविधिता छ। परम्परागत रूपमा प्रचलित एवं पाश्चात्य प्रभावस्वरूप निर्मित नेपाली समाजको आस्था मूलतः अलौकिक शक्तिसँग रहेको छ। ईश्वरवाद यसको आधार बनेको छ।
नेपाली संस्कृतिमा रहेको धार्मिक विचारधारा नै यस प्रकारका आस्थाको स्रोत हो। हिन्दु, बौद्ध, इस्लाम, इसाई, सिख, जैन र अन्य धार्मिक मत सम्प्रदायहरूको उपस्थितिले दर्शाउने विविधतालाई धेरैले अस्वीकार गरेको पाइन्छ। विश्वासको विविधतामा आस्था राख्ने समुदाय हाम्रो मुलुकमा रहँदै आएका छन्।
त्यसैले नेपाली सभ्यता र संस्कृतिका सन्दर्भमा कुनै एक जातिविशेषको योगदानलाई बढाइचढाइ गर्नु अनुपयुक्त हुन्छ र यहाँ प्रचलित धार्मिक विश्वासका सन्दर्भमा पनि मात्राका हिसाबले धेरै थोरै जे भए तापनि हिन्दु, बौद्ध, इस्लाम, इसाई, सिख, जैन र अन्य आस्थामा बाँधिएका जातीय समूहलाई देशप्रतिको माया वा प्रेम अटल रहेको छ।
प्रकृति र जीवनको सम्बन्धजस्तै– संस्कृति र समाज अटुट सम्बन्धमा रहिआएका छन्। सामाजिक रीति, परम्परा, सोचाइ र सदाचार समयसँगै बदलिँदै आएका छन्। नित्य नवीन प्रभाव ग्रहण गर्दै हाम्रो संस्कृति हुर्किरहेको छ। कैयौं पुराना मान्यता बदलिइसकेका छन् र कतिपय बदलिने प्रक्रियामा छन्।
पुरानो विचार, व्यवहार र संस्कारसँग नयाँ विचार, व्यवहार र संस्कारको द्वन्द्व सदैव चलिरहेको हुन्छ। विश्वास र सन्देहको द्वन्द्वमा ज्ञानले पाइला अघि बढाउँछ, तर्कले तथ्य केलाउँछ र सत्य निरूपण गर्छ। तर समाजले स्थापित गरेका कैयौं झुट र त्यसमा आधारित सिर्जनाले सांस्कृतिक मूल्य प्राप्त गरेपछि ती हाम्रो सम्पदाका रूपमा रहन पुग्छन्।
लोकतान्त्रिक मूल्य–मान्यतामा रहनु, श्रमशीलताप्रति आदर भाव राख्नु, सानो–ठुलो जातको भावना हटाउनु, जातीय एकतामा लागेर राष्ट्रियताप्रति संवेदनशील हुनुजस्ता क्रियाकलापले देशप्रेमको भावनामा वृद्धि गराउँदै सबै जातिको सहजीवन, एकता र समृद्धिद्वारा राष्ट्र र राष्ट्रियता तथा देशप्रेमको भावना निर्माण गर्ने मानवीय संस्कृति बन्छ।
नेपाली भूमि र जनता दुवै विशिष्ट विविधतायुक्त छन्। जीवनपद्धति र संस्कृति विविधतापूर्ण छन्। भाषा, साहित्य, कला, पर्यावरण, उत्पादन, यातायातको अवस्थामा विविधता छ। जनताको बसोबास, बसाइँसराइ स्वास्थ्य–सेवाको पहुँच फरक फरक छ। त्यसैले साझा भावनामा परस्पर नबिउझेसम्म तराईले पहाड र पहाडले हिमाली भूखण्डको कठिनाइ महसुस गर्न सक्दैन।
हाम्रो संस्कृतिले यो देखाउन सक्नुपर्छ। जनतालाई देशभक्तिपूर्ण निष्ठामा जागृत गर्ने काम राष्ट्र र राष्ट्रियताको रक्षा तथा संवर्धनका लागि तत्काल गर्नुपर्ने काम भइसकेको छ। आज राज्य पुनर्संरचनासँगै संस्कृतिको पनि पुनर्संरचना गर्नुपर्ने खाँचो छ।
अतीतको रक्षा र अतीतबाट मुक्ति संस्कृतिका क्षेत्रमा निरन्तर चल्ने द्वन्द्वको कारण बनेको हुन्छ। यही द्वन्द्वका क्रममा जनहितकारी पक्षलाई जनताले रक्षा गर्छन्। राज्यले जनताको भावनालाई ठिकसँग प्रतिनिधित्व गर्यो भने जनकल्याणको त्यो तत्त्व व्यापक मात्रामा सुरक्षित हुन्छ, असल सांस्कृतिक परम्पराले निरन्तरता पाउँछ। पुरातन र नूतन संस्कृतिबिच सम्बन्ध कायम हुन्छ।
ठोस एवं बहुआयामिक सांस्कृतिक नीति निर्माण नगर्ने हो भने नेपाली राष्ट्रियताको रक्षा र संवर्धन कार्य अघि बढ्न सक्दैन। अन्तरजातीय एकता र सद्भाव प्रवर्धन नगरी हाम्रो जस्तो जातीय बनोट रहेका मुलुकले राष्ट्रियता सुदृढ गर्न सक्दैनन्। मुलुकको सार्वभौम स्वतन्त्रता र अखण्डता गुमाएका घटनाहरूले पनि यस विषयमा राज्य सञ्चालकलाई सचेत बनाएकै हुनुपर्ने हो। बाइसौं शताब्दीको द्वारमा खडा भएका नेता, बुद्धिजीवी एवं संस्कृतिकर्मीहरूले देशप्रेमको भावनामा रहेर काम गर्नुपर्छ।
पूर्वीय संस्कृतिमा आफूभन्दा ठुलालाई आदर सम्मान गर्ने र आफूभन्दा सानालाई माया गर्ने संस्कार पाइन्छ। यहाँ मातृदेवो भवः, पितृदेवो भवः, गुरुदेवो भवः भन्दै माता, पिता र गुरुलाई देवताका रूपमा मान्ने संस्कृति छ। वृद्धवृद्धाको सेवा गर्ने, मठमन्दिरको भ्रमण गरी पूजाआजा र दान दिने प्रचलन परम्परादेखि चलिआएकाले नेपाली संस्कृतिमा धार्मिक सहिष्णुता पाइन्छ।
वसुधैव कुटुम्बकम्, सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामया जस्ता सूक्तिलाई आत्मसात गर्दै मानवतावादी विचारलाई विश्वमाझ पुर्याउन नेपाली संस्कृति सफल छ। वीर गोर्खालीका नामले विश्व परिचित नेपालीको गौरव गाथाले नेपालको सांस्कृतिक परम्परालाई उँचो बनाएको छ। सरल र सुखी जीवनशैलीका कारण आनन्दपूर्वक बाँच्न सफल नेपाली जाति हिमाल आरोहण गर्ने कला कौशलमा पनि अग्रस्थानमा छ।
बुद्धको जन्मभूमि र सगरमाथाको देशका रूपमा विश्वमाझ परिचित नेपाल जलस्रोतका दृष्टिले विश्वमै धनी देशको गणनामा रहेको छ भने प्रकृति पूजा र जीवजन्तुलाई देवताका रूपमा मान्ने संस्कृतिका कारण वातावरण जोगाउने संस्कृतिमा नेपाल अगाडि छ। विश्वमा वीर गोर्खालीको नामले परिचित नेपालीहरू आफ्नो पौरख र गौरवमा बाँचेका छन्। विश्व बन्धुत्व र भातृत्वको भावना लिएर विश्वका विभिन्न देशमा पुगेका नेपालीले आफ्नो देशको नाम उँचो राख्न विशेष भूमिका निर्वाह गरेका छन्।
प्रकाशित: २४ जेष्ठ २०८२ १०:१४ शनिबार





