१ असार २०८२ आइतबार
image/svg+xml
धर्म/संस्कृति

बौद्ध शिक्षार्थ भक्तपुर धाइरहेका कुलपुत्र

बौद्ध शिक्षा प्राप्तिका लागि देशभरिबाट झन्डै तीन दर्जन कुलपुत्र भक्तपुरको विहारमा भेला भएका छन्। भक्तपुर नगरपालिका–७ खँचा इनाचोस्थित मुनि विहारमा उनीहरूलाई सोमबारबाट औपचारिक रूपमा बौद्ध शिक्षा प्रदान गर्न थालिएको छ।

यो वर्ष बौद्ध शिक्षा लिन देशका विभिन्न जिल्लाबाट भक्तपुर आएकाहरूलाई सोमबार नै सामूहिक प्रवज्या (स्वागत) गरिएको थियो। यसअघि उनीहरूलाई बौद्धमार्गीहरूले लगाउने चिवर (पहेंलो वस्त्र) लगाउन दिइएको थियो। साथै यसअघि नै बौद्ध परम्पराअनुसार उनीहरूलाइए कपाल खौराइएको थियो।

इनाचो मुनि विहार व्यवस्थापन समितिका सचिव शिव बालाका अनुसार प्रत्येक वर्ष मे ५ को दिन यसरी नै मुनि विहारमा प्रवज्या कार्यक्रम हुन्छ। त्यसअघि बौद्ध शिक्षा लिन चाहनेलाई सहभागिताका लागि आह्वान गरिन्छ। त्यसपछि इच्छुक सबैलाई जम्मा पारी औपचारिक शिक्षा दिन थालिन्छ। यसका लागि अभिभावक वा सरोकारवालाहरूले मुनि विहारका नाममा आफ्ना सन्तानलाई ल्याई छाडेर जाने गर्छन्। नयाँ शैक्षिक सत्र पनि यही समयमा उपयुक्त भएकाले वर्षमा एक पटक यही बेला बौद्ध शिक्षाका लागि आह्वान गरिन्छ।

बौद्ध शिक्षा लिन चाहनेहरूले बौद्ध परम्पराअनुसार मुनि विहारमै बस्नुपर्छ। उनीहरूलाई त्यहाँ गाँस, बास र कपासको व्यवस्था निःशुल्क रूपमा हुन्छ। साथै उनीहरूलाई सरकारी स्कुलहरूमा पढाउने बन्दोबस्त मुनि विहारले नै गर्छ। विद्यार्थीहरूले बौद्ध परम्परा अनुसार नै चिवरमा बसेर भिक्षा लिन पनि हिँड्नुपर्छ। यसका अलावा उनीहरूले निःशुल्क स्वास्थ्योपचार सेवा पनि पाउँछन्।

मुनि विहारका अर्जुन भन्तेले पछिल्ला पाँच वर्षयता बर्सेनि देशभरबाट झन्डै तीन दर्जनदेखि ६ दर्जनसम्म विद्यार्थी बौद्ध शिक्षाका लागि आउने गरेको जानकारी दिए। त्यसमा पुरुष मात्रै हुन्छन्। महिलाका लागि छुट्टै बन्दोबस्त हुन्छ। साथै बौद्ध शिक्षा लिनेको उमेर कम्तीमा १० वर्षको हुनुपर्छ। बढीमा जति वर्षका भए पनि आउन पाउँछन्। तर बौद्ध परम्पराअनुसार सबैजना विहारमै बस्नुपर्छ र बौद्ध शिक्षामा सहभागी हुनुपर्छ।

इनाचो मुनि विहार भक्तपुरका प्रमुख विपस्वी भन्तेका अनुसार विहारमा जीवन बिताउन थालेपछि उनीहरू भविष्यमा पनि बौद्ध शिक्षामै रहिरहन सक्छन्। बौद्ध शिक्षा लिन थाल्नेलाई सुरुमा श्रामणेर भनिन्छ।

पछि चिवर लगाएर बौद्ध शिक्षामै निरन्तर रूपमा रहिरहनेलाई मात्र भिक्षु भनिन्छ। श्रामणेर भएर पछि भिक्षु बन्न नचाहनेले सामान्य जीवनका लागि घर जान सक्छन्। बौद्ध शिक्षाका लागि विहारमै बस्ने बन्दोबस्त गर्नेमा भक्तपुरको इनाचो मुनि विहार मात्रै हो।

प्रकाशित: २३ वैशाख २०८२ ०७:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App