भायनेट कम्युनिकेसनले नेपालमा आयोजना हुने PUBG MOBILE National Championship (PMNC) Nepal 2026 को आधिकारिक इन्टरनेट पार्टनरका रूपमा सहकार्य गरेको छ। यो सहकार्यसँगै प्रतियोगिताको फाइनलमा भायनेटको WiFi 6 प्रविधिले इन्टरनेट सेवा उपलब्ध गराउनेछ।
PMNC नेपाल २०२६ को फाइनल प्रतियोगिता आगामी अगस्ट २२ र २३ (भदौ ६ र ७) मा काठमाडौंको दशरथ रंगशालास्थित कभर्ड हलमा आयोजना हुँदैछ। प्रतियोगितामा नेपालका उत्कृष्ट PUBG MOBILE टोलीहरू सहभागी हुँदै दक्षिण एसियाली स्तरको प्रतिस्पर्धाका लागि स्थान सुरक्षित गर्ने लक्ष्यसहित प्रतिस्पर्धा गर्नेछन्।
भायनेटले यो साझेदारीलाई केवल एउटा गेमिङ प्रतियोगितामा इन्टरनेट सेवा उपलब्ध गराउने सहकार्यका रूपमा मात्र नभई नेपालमा तीव्र रूपमा विस्तार भइरहेको गेमिङ तथा ई-स्पोर्ट्स समुदायसँग जोडिने अवसरका रूपमा लिएको जनाएको छ।
भायनेट कम्युनिकेसनका एभीपी, कमर्सियल एन्ड मार्केटिङ शाहिन श्रेष्ठले गेमिङ अहिले मनोरञ्जनमा मात्र सीमित नरहेको बताए। उनका अनुसार धेरै युवाका लागि गेमिङ रुचि, समुदाय र करियरको माध्यमसमेत बन्दै गएको छ।
‘प्रतिस्पर्धा जति तीव्र हुन्छ, इन्टरनेट कनेक्सनको भूमिका पनि त्यति नै महत्वपूर्ण हुन्छ,’ श्रेष्ठले भने, ‘PMNC नेपाललाई इन्टरनेटमार्फत सहयोग गर्न र भायनेट WiFi 6 लाई गेमिङ समुदायसँग नजिक ल्याउन पाउँदा हामी उत्साहित छौं।’
भायनेटका अनुसार WiFi 6 प्रविधि उच्च क्षमताको इन्टरनेट प्रयोगलाई ध्यानमा राखेर तयार गरिएको हो। यसले अघिल्लो पुस्ताको तुलनामा चार गुणासम्म कार्यसम्पादन, सुधारिएको कभरेज र कम ल्याटेन्सी प्रदान गर्ने कम्पनीको दाबी छ।
एकैपटक धेरै उपकरण इन्टरनेटमा जोडिने घर तथा कार्यालयमा सहज कनेक्टिभिटीका लागि WiFi 6 उपयोगी हुने भायनेटले जनाएको छ। गेमिङका अतिरिक्त स्ट्रिमिङ, अनलाइन काम तथा दैनिक डिजिटल गतिविधिका लागि पनि यसले स्थिर कनेक्सन उपलब्ध गराउने कम्पनीको भनाइ छ।
नेपालमा प्रतिस्पर्धात्मक गेमिङ र ई-स्पोर्ट्सको लोकप्रियता बढ्दै गएको अवस्थामा युवा तथा डिजिटल प्रविधिमा सक्रिय पुस्तासँग जोडिन ई-स्पोर्ट्स उपयुक्त माध्यम भएको भायनेटले जनाएको छ।
PMNC नेपाल २०२६ मार्फत खेलाडी, दर्शक तथा समग्र गेमिङ समुदायलाई सहयोग पुर्याउने र गुणस्तरीय इन्टरनेट अनुभवको महत्व उजागर गर्ने कम्पनीको लक्ष्य छ।
भायनेटले आफ्नो WiFi 6 सेवाका लागि ‘Built for Gaming’ अवधारणा अघि सारेको छ।
भायनेट कम्युनिकेसन नेपालका प्रमुख इन्टरनेट सेवा प्रदायकमध्ये एक हो। कम्पनीले देशभर घर तथा व्यवसायका लागि उच्च गतिको इन्टरनेट र डिजिटल कनेक्टिभिटी सेवा उपलब्ध गराउँदै आएको छ। प्रविधि र ग्राहक अनुभवमा केन्द्रित हुँदै भायनेटले ‘Connect. Do More.’ नारासहित सेवा विस्तार गरिरहेको जनाएको छ।
प्रकाशित: ५ भाद्र २०८३ २०:२७ शुक्रबार




-600x400.jpg)
-600x400.jpg)