४ आश्विन २०८३ आइतबार
image/svg+xml
कर्पोरेट

आगजनीपछि टंगालको भाटभटेनी असोज ५ देखि पुनः सञ्चालनमा आउने

काठमाडौंको टंगालस्थित भाटभटेनी सुपर स्टोर असोज ५ गते सोमबारदेखि पुनः सञ्चालनमा आउने भएको छ। भाटभटेनी सुपर मार्केटका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलले स्टोर नियमित रूपमा सञ्चालनमा आउने जानकारी दिएका हुन्।

उनका अनुसार गत वर्षको आगजनीबाट क्षति पुगेका १२ स्टोरमध्ये १० वटा पुनः सञ्चालनमा आइसकेका छन्। बाँकी दुई स्टोर पनि पुनःनिर्माणको अन्तिम चरणमा रहेको कम्पनीले जनाएको छ। दमक र हेटौंडाका स्टोरमा संरचनागत काम, उपकरण व्यवस्थापन तथा आन्तरिक निर्माणको काम जारी रहेको जनाइएको छ।

कम्पनीले आगजनीबाट ठूलो क्षति बेहोरे पनि १० हजारभन्दा बढी कर्मचारीको रोजगारीमा असर पर्न नदिएको जनाएको छ। कर्मचारीलाई रोजगारीबाट अलग नगरेको र गत वर्ष भदौ २४ पछिको दसैंमा पाउने बोनससमेत कटौती नगरेको कम्पनीको भनाइ छ।

आगजनीपछि चौबीसै घण्टा कामलाई निरन्तरता दिँदै पुनःनिर्माण अघि बढाइएको कम्पनीले जनाएको छ। पूर्ण रूपमा जलेका स्टोर पुनःनिर्माणमा ठूलो समय, स्रोत र लगानी आवश्यक परे पनि ग्राहकलाई सेवा पुनः उपलब्ध गराउने लक्ष्यका साथ काम गरिएको भाटभटेनी सुपर मार्केट प्रा. लि.का अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले बताए।

उनका अनुसार आगजनीपछि पूर्णरूपमा क्षतिग्रस्त कोटेश्वरस्थित स्टोर पाँच महिनामै पुनः सञ्चालनमा ल्याइएको थियो। क्रमिक रूपमा अन्य स्टोरहरू पनि पुनःनिर्माण गरी सञ्चालनमा ल्याइएको जनाइएको छ।

यसैबीच काठमाडौंमा सञ्चालनको तयारीमा रहेको बाल अस्पतालका लागि भाटभटेनीले ७१ करोड रुपैयाँभन्दा बढी सहयोग गरेको गुरुङले जनाएको छ। नेपाली बालबालिकाले एउटै भवनबाट अन्तर्राष्ट्रियस्तरको उपचार सुविधा पाउन सकून् भन्ने उद्देश्यले उक्त सहयोग गरिएको गुरुङको भनाइ छ।

कम्पनीले पुनःनिर्माणका क्रममा गुणस्तर र दीर्घकालीन सञ्चालनलाई ध्यानमा राखिएको जनाएको छ। साथै ग्राहकको सुविधालाई ध्यानमा राख्दै आधुनिक सुविधा र गुणस्तरीय सेवा उपलब्ध गराउने प्रतिबद्धता यथावत् रहेको जनाएको छ।

टंगालस्थित स्टोर पुनः सञ्चालनको अवसरमा सोमबार बिहान ८ बजे स्टोर परिसरमा कार्यक्रम आयोजना गरिएको कम्पनीले जनाएको छ। कम्पनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले ग्राहक, शुभेच्छुक, कर्मचारी तथा सहयोगी सबैप्रति आभार व्यक्त गरेका छन्।

प्रकाशित: ४ आश्विन २०८३ १२:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App