१ वैशाख २०८३ मंगलबार
image/svg+xml
कर्पोरेट

सुबिसु र एपाक आइपीभी सिक्स काउन्सिलबिच ऐतिहासिक सहकार्य सम्झौता

नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक सुबिसु लिमिटेड र एसिया–प्रशान्त क्षेत्रमा IPv6 प्रवर्द्धनका लागि समर्पित संस्था एपाक आइपीभी सिक्स काउन्सिलबीच एक महत्त्वपूर्ण सहकार्य सम्झौतामा हस्ताक्षर भएको छ । चौंथो एपाक आइपीभी सिक्स काउन्सिल मीटको पहिलो दिन, चैत २६ मा काठमाडौंमा सम्पन्न सम्झौताले नेपालको डिजिटल पूर्वाधार विकासमा नयाँ ऐतिहासिक अध्याय थप्ने अपेक्षा गरिएको छ ।  

सो सम्झौता–पत्रमा सुबिसुको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिनय मोहन सउदले हस्ताक्षर गरेका छन् भने एपाक आइपीभी सिक्स काउन्सिलका अध्यक्ष प्रो. इमेरिटस डा. सुरेश्वरन रामादासले हस्ताक्षर गरेका छन् ।  

यो सम्झौताले दुई संस्थाबीच प्राविधिक ज्ञान आदान–प्रदान, विशेषज्ञ आदानप्रदान, संयुक्त प्रकाशन र परस्पर प्रचारप्रसारको ढोका खोलेको छ । यस MoU अन्तर्गत सुबिसु लिमिटेडले एपाक आइपीभी सिक्स काउन्सिलको संस्थागत सदस्यताको रूपमा सहभागी हुने अवसर पनि पाउनेछ ।

सुबिसु लिमिटेडका सिइओ बिनोद मोहन सउदले भने, “नेपालमा यस्तो अन्तर्राष्ट्रियस्तरको प्रविधि सम्मेलन आयोजना गरी एपाक आइपीभी सिक्स काउन्सिलसँग औपचारिक साझेदारी गाँस्न पाउनु हाम्रा लागि गर्वको विषय हो । यो सम्झौताले नेपाललाई एसिया-प्रशान्त क्षेत्रको प्रविधि विमर्शको केन्द्रमा स्थापित गर्न सघाउनेछ ।”

एपाक आइपीभी सिक्स काउन्सिल भनेको IPv6 Forum को एसिया – प्रशान्त च्याप्टर हो । जसको उद्देश्य यस क्षेत्रमा IPv6 को प्रवर्द्धन र विस्तार गर्नु हो । यसमा व्यक्तिगत तथा संस्थागत सदस्यहरू रहेका छन् । यसले नेटवर्किङ तथा दूरसञ्चार पूर्वाधारमा IPv6 को सफल एकीकरणका लागि प्राविधिक नेतृत्व प्रदान गर्दछ ।

यस सम्झौता–पत्रमा निम्न कुरा समावेश छन् :

● प्राविधिक ज्ञान, कागजात तथा उत्कृष्ट अभ्यासहरूको सूचना आदानप्रदान

● एक–अर्काका प्रकाशनहरूमा लेख रचनाको योगदान

● परस्पर अनुमति सहित एक – अर्काको नाम र लोगोको प्रचारमा उपयोग

● ज्ञान साझा करणका लागि विशेषज्ञ आदानप्रदान

यो सम्झौता नेपालको ‘डिजिटल नेपाल’ अभियानलाई थप बल दिने तथा देशको इन्टरनेट पूर्वाधारलाई वैश्विक मानदण्डसँग तुलनीय बनाउने दिशामा एक सुदृढ कदम मानिएको छ । IPv6 को अवलम्बन भविष्यको इन्टरनेट विस्तार, IoT, र क्लाउड कम्प्युटिङका लागि अपरिहार्य मानिन्छ र यस सम्झौताले नेपालका संस्थाहरूलाई यस दिशामा अघि बढ्न प्रेरणा दिनेछ ।

सुबिसु लिमिटेड विगत २५ वर्षदेखि नेपालमा उच्च स्तरीय ब्रोडब्यान्ड, इन्टरप्राइजकनेक्टिभिटी र डिजिटल सेवा प्रदान गर्दै आइरहेको नेपालको अग्रणी  ISP हो । यस MOU हस्ताक्षरसँगै सुबिसु एपाक आइपीभी सिक्स काउन्सिलको संस्थागत विशिष्ट सदस्य बन्ने अवसर पाएको छ, जसले नेपालको प्राविधिक समुदायलाई क्षेत्रीय र वैश्विक मञ्चमा प्रतिनिधित्व गर्ने अवसर प्रदान गर्नेछ ।

प्रकाशित: २७ चैत्र २०८२ १३:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App