१ असार २०८३ सोमबार
image/svg+xml
कर्पोरेट

इटहरीमा कोशीकै सबैभन्दा ठूलो सम्मेलन केन्द्र बन्ने

इटहरीमा कोशी प्रदेशकै सबैभन्दा ठूलो सम्मेलन केन्द्र निर्माण हुने भएको छ। चार हजार जना अट्ने क्षमताको एबी हस्पिटालिटी–विन्धम रिसोर्ट एण्ड कन्भेन्सन सेन्टर निर्माणका लागि आवश्यक वित्तीय व्यवस्थापन बुधबार सम्पन्न भएको हो। उक्त परियोजनाको वित्तीय समापन एभरेष्ट बैंक लिमिटेड र मुक्तिनाथ विकास बैंक लिमिटेडको सहकार्यमा सम्पन्न भएको हो।

एबी इन्भेष्टमेन्ट होल्डिङका अध्यक्ष देशबन्धु बस्नेतको नेतृत्वमा निर्माण हुन लागेको यो परियोजनालाई पूर्वी नेपालकै पर्यटन तथा आतिथ्य क्षेत्रको महत्वपूर्ण पूर्वाधारका रूपमा हेरिएको छ।

इटहरीमा निर्माण हुने सम्मेलन केन्द्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मेलन, प्रदर्शनी, व्यावसायिक कार्यक्रम तथा गन्तव्य विवाह आयोजना गर्न सकिनेछ। यस परियोजनाले इटहरी, कोशी प्रदेश तथा भारतलगायत छिमेकी मुलुकका आयोजकहरूलाई समेत आकर्षित गर्ने अपेक्षा गरिएको छ।

बस्नेतका अनुसार यो परियोजनाले पूर्वी नेपाललाई पर्यटन तथा व्यावसायिक गतिविधिको प्रमुख केन्द्रका रूपमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्नेछ। परियोजना सञ्चालनमा आएपछि हजारौं प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी सिर्जना हुनुका साथै स्थानीय व्यवसाय, कृषि, सेवा तथा पर्यटन क्षेत्रलाई समेत टेवा पुग्ने विश्वास गरिएको छ।  

परियोजनाका परिकल्पनाकार तथा व्यवस्थापक प्रभात कार्कीले सम्मेलन केन्द्र पूर्वी नेपालको दीर्घकालीन आवश्यकता रहेको उल्लेख गर्दै यसले नेपाल, भारत, भुटान र बंगलादेशलाई जोड्ने पर्यटन तथा व्यावसायिक केन्द्रका रूपमा पूर्वी नेपालको पहिचान अझ बलियो बनाउने बताए।

प्रकाशित: १ असार २०८३ १५:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App