विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले नेपालमा आफ्नो सफल सञ्चालनको पाँच वर्ष पूरा गरेको छ । यस अवसरमा कम्पनीले चालक–केन्द्रित सेवा मोडेल, आयमा पारदर्शिता, स्वतन्त्र निर्णयको अधिकार तथा लचिलो कार्य वातावरणप्रतिको आफ्नो दीर्घकालीन प्रतिबद्धता दोहोर्याएको छ ।
नेपालमा पाँच वर्षको यात्रालाई स्मरणीय बनाउने उद्देश्यका साथ कम्पनीले ‘इनड्राइभसँग आफ्नै रोजाइमा, छैन प्रेसर’ (ड्राइभ विदआउट प्रेसर ) नामक नयाँ ब्रान्ड क्याम्पेन सार्वजनिक गरेको छ । चालकहरूको अनुभव, स्वतन्त्रता र रोजाइलाई केन्द्रमा राखेर उक्त क्याम्पेन तयार गरिएको कम्पनीले जनाएको छ । उक्त क्याम्पेनले डिजिटल यातायात क्षेत्रमा कार्यरत चालकको वास्तविक जीवन, चुनौती र अवसरलाई उजागर गर्ने कम्पनीको भनाइ छ ।
जुनदेखि अगस्टसम्म सञ्चालन हुने क्याम्पेनमार्फत चालकहरूले कहिले काम गर्ने, कुन यात्रा स्वीकार गर्ने र आफ्नो समय तथा आम्दानी कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा निर्णय क्षमतालाई मुख्य सन्देशका रूपमा प्रस्तुत गर्नेछ ।
नेपालमा सेवा सुरु गरेदेखि इनड्राइभले यात्रु र चालकबीच एपमार्फत प्रत्यक्ष रूपमा भाडादर तय गर्न सकिने ‘पियर–टु–पियर’ मोडेललाई प्रवद्र्धन गर्दै आएको छ । कम्पनीका अनुसार यस प्रणालीले चालकलाई यात्राको छनोट, कार्य समय निर्धारण तथा आम्दानी व्यवस्थापनमा थप नियन्त्रण र स्वायत्तता प्रदान गरेको छ, जसले उनीहरूको व्यावसायिक सन्तुष्टि र दीर्घकालीन सहभागितामा सकारात्मक प्रभाव पारेको छ ।
‘पछिल्ला पाँच वर्षमा हामीले चालकहरूले दीर्घकालसम्म विश्वास गर्न सक्ने, पारदर्शी र निष्पक्ष प्लेटफर्म निर्माणमा विशेष ध्यान केन्द्रित गरेका छौं’ इनड्राइभ नेपालकी सिनियर ड्राइभर अपरेसन स्पेसलिस्ट सुनिता जिमी राईले भनिन्, ‘हामीले निरन्तर रूपमा चालकहरूको आवश्यकतालाई प्राथमिकता राख्दै उनीहरूलाई आफ्नो व्यक्तिगत र व्यावसायिक जीवनबीच सन्तुलन कायम गर्न सहयोग पुग्ने वातावरण निर्माण गर्ने प्रयास गरेका छौं ।’
इनड्राइभले नेपाललाई आफ्नो दक्षिण एशियाली सञ्चालनका लागि रणनीतिक रूपमा महत्त्वपूर्ण बजारका रूपमा लिँदै आएको जनाएको छ । कम्पनीले स्थानीय आवश्यकता र बजारको प्रकृतिअनुसार सेवामा सुधार गर्दै दिगो विकास, आर्थिक सशक्तीकरण तथा समुदायसँगको सहकार्यलाई प्राथमिकतामा राखेको बताएको छ ।
पाँचौँ वार्षिकोत्सवको अवसरमा कम्पनीले ‘होमकमिङ मिटर’ क्याम्पेनसमेत सुरु गर्ने घोषणा गरेको छ । उक्त पहलअन्तर्गत वैदेशिक रोजगारीका लागि विदेश पुगेका तर पछि स्वदेश फर्किएर प्लेटफर्म–आधारित अवसरमार्फत नेपालमै आफ्नो जीवन र जीविकोपार्जन पुनः स्थापित गरेका नेपाली चालकहरूको प्रेरणादायी यात्रा सार्वजनिक गरिनेछ ।
कम्पनीका अनुसार ‘होमकमिङ मिटर’ केवल व्यक्तिगत सफलताका कथाहरूको प्रस्तुति मात्र नभई श्रम आप्रवासन, आर्थिक पुनस्र्थापना, उद्यमशीलता तथा स्वदेशमै आयआर्जनका सम्भावनाबारे भइरहेको राष्ट्रिय संवादसँग जोडिएको पहल पनि हो । यस अभियानमार्फत विदेशबाट फर्किएका नेपालीहरूले स्वदेशमै सम्मानजनक रोजगारी तथा आयआर्जनका अवसर सिर्जना गर्न सक्ने सम्भावनालाई उजागर गरिने विश्वास कम्पनीले व्यक्त गरेको छ ।
प्रकाशित: २६ जेष्ठ २०८३ १९:३९ मंगलबार





