सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बैंकमा दीर्घकालीन सेवा दिएका कर्मचारीलाई ‘दीर्घ सेवा सम्मान’ प्रदान गरेको छ। बैंकले आफ्नो १९औँ स्थापना दिवसको अवसर पारेर मनाइँदै आएको ‘कर्मचारी दिवस (Employee Day)’ का अवसरमा यस्तो सम्मान प्रदान गरेको हो।
बैंकले २०६४ साल वैशाख ७ गते जम्मा ४३ जना कर्मचारीबाट औपचारिक रूपमा बैंकिङ सेवा सुरु गरेको थियो। हाल बैंकले १९ वर्ष पूरा गरी २०औँ वर्षमा प्रवेश गर्ने क्रममा एक महिनासम्म विभिन्न वार्षिक उत्सवसम्बन्धी कार्यक्रम आयोजना गरिरहेको जनाएको छ। वैशाख ७ गते बैंकको औपचारिक स्थापना दिवसका रूपमा मनाइन्छ भने हरेक वर्ष चैत १ गते ‘कर्मचारी दिवस’ मनाउने परम्परा रहेको छ।
बैंकको केन्द्रीय कार्यालय नारायणहिटी पथमा आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले बैंकमा अविरल १० वर्ष सेवा गरेका ४८ जना तथा १५ वर्ष सेवा गरेका १४ जना गरी कुल ६२ जना कर्मचारीलाई प्रमाणपत्रसहित ‘दीर्घ सेवा सम्मान’ पदक प्रदान गरेका हुन्।
समारोहलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत पोखरेलले कर्मचारीहरूलाई आफ्नो क्षमताअनुसार शतप्रतिशत योगदान दिँदै बैंकलाई अझ उचाइमा पुर्याउन आग्रह गरे। उनले कर्मचारीहरूलाई जिम्मेवार, लगनशील र प्रतिबद्ध भएर आफ्नो काम तथा कर्तव्य पूरा गर्न आग्रह गरेका थिए।
बैंकका अनुसार हालसम्म ३५६ जना कर्मचारीले दीर्घ सेवा सम्मान प्राप्त गरिसकेका छन्। तीमध्ये २९० जनाले १० वर्ष सेवा सम्मान पदक र ६६ जनाले १५ वर्ष सेवा सम्मान पदक प्राप्त गरेका छन्। हाल बैंकमा कुल १ हजार ७ सय ६४ कर्मचारी कार्यरत छन्।

बैंकले पछिल्लो समय विभिन्न नवीन सेवाहरू समेत सुरु गर्दै आएको छ। बैंकले फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ नामक भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ। साथै नवयुवा लक्षित ‘सिटिजन्स जेन–जी सेभिङ्स अकाउन्ट’, ‘सिटिजन्स डिजी बैंक सेवा’ नामक एकीकृत अनलाइन प्लेटफर्म तथा फ्रिलान्सरहरूका लागि विशेष ‘फ्रिलान्सर सेविङ्स अकाउन्ट’ समेत सञ्चालनमा ल्याएको छ।
त्यसैगरी बैंकले मोबाइल बैंकिङ एपमार्फत नै शेयर आवेदन तथा सीआरएन नम्बर सेवा लिन सकिने सुविधा पनि उपलब्ध गराएको छ। साथै क्रस बैंक टेलर सुविधामार्फत अन्य बैंकका ग्राहकले पनि सिटिजन्स बैंकको शाखाबाट टेलर क्यूआर स्क्यान गरी नगद प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ।
हाल सिटिजन्स बैंकले देशका ६१ जिल्लामा फैलिएका २०० शाखा, १६९ एटीएम, ३ विस्तारित काउन्टर तथा ४२ शाखारहित बैंकिङ इकाइमार्फत करिब १९ लाख ९७ हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ। साथै बैंकले अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित ‘बैंक अफ द इयर २०२४’ र ‘बैंक अफ द इयर २०२५’ उपाधि समेत प्राप्त गर्न सफल भएको जनाएको छ।
प्रकाशित: २ चैत्र २०८२ १३:०९ सोमबार





