२ असार २०८२ सोमबार
image/svg+xml
कर्पोरेट

अमेरिकी भन्सार दरले टोयोटाको नाफा ३४.९ प्रतिशत घट्ने

जापानको ठूलो अटो कम्पनी टोयोटा मोटर कर्पोरेशनले सन् २०२५ को आर्थिक वर्षमा आफ्नो खुद नाफा ३४.९ प्रतिशतले घटेर ३.१ ट्रिलियन येन (लगभग २१.६ अर्ब अमेरिकी डलर) हुने अनुमान गरेको छ। कम्पनीका अनुसार यो गिरावटको मुख्य कारण अमेरिकी भन्सार दरमा भएको वृद्धि र येनको अमेरिकी डलरसँगको मूल्यवृद्धि हो।

टोयोटाले चालु आर्थिक वर्ष (मार्च २०२५ सम्म) मा ४८.५ ट्रिलियन येनको रेकर्ड बिक्री हुने अपेक्षा गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा १ प्रतिशतले बढी हो। तर, सञ्चालन नाफा २०.८ प्रतिशतले घटेर ३.८ ट्रिलियन येन हुने अनुमान छ।

अघिल्लो आर्थिक वर्षमा कम्पनीले ४.७७ ट्रिलियन येन नाफा कमाएको थियो, जुन अघिल्लो वर्षको तुलनामा ३.६ प्रतिशतले कम हो। सोही अवधिमा बिक्री ६.५ प्रतिशतले बढेर ४८.०४ ट्रिलियन येन पुगेको थियो।

टोयोटाका अध्यक्ष तथा सीईओ कोजी सातोले अमेरिकी भन्सारको असरले अप्रिल र मे २०२५ मा झण्डै १८० अर्ब येनको नाफामा घाटा हुने बताए। उनले भने, ‘भन्सारको विवरण अझै पूर्ण रूपमा स्पष्ट नभएकाले भविष्यको पूर्वानुमान गर्न कठिन भइरहेको छ।’

टोयोटाले हाल जापानबाट वार्षिक करिब ५ लाख गाडी अमेरिका निर्यात गर्छ। सातोले भने, ‘छोटो अवधिमा हामी ढुवानीको मार्ग समायोजन गर्दैछौं भने दीर्घकालमा स्थानीय बजारलाई ध्यानमा राखी उत्पादनको स्थानीय विकास गर्ने योजनामा छौं।’

येनको मूल्यवृद्धिले कम्पनीको नाफामा ठूलो असर पार्ने अपेक्षा छ। यो परिवर्तनले सञ्चालन नाफामा ७४५ अर्ब येनको कमी ल्याउनेछ। रासस

प्रकाशित: २६ वैशाख २०८२ १८:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App