१७ असार २०८३ बुधबार
image/svg+xml
बजार

फोटोन मोटर्सले बुटवलमा नयाँ शोरुम सञ्चालनमा ल्यायो

फोटोन मोटर्स नेपालले पश्चिम नेपालमा आफ्नो बजार विस्तार गर्ने रणनीतिअन्तर्गत बुटवलमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ। कम्पनीले असार १५ गते औपचारिक कार्यक्रममार्फत नयाँ शोरुम उद्घाटन गर्दै पश्चिम क्षेत्रमा आफ्नो उपस्थितिलाई थप सुदृढ बनाएको जनाएको छ।

व्यापार तथा यातायातको प्रमुख केन्द्रका रूपमा रहेको बुटवलमा सञ्चालनमा आएको नयाँ शोरुमले रुपन्देही, पाल्पा, नवलपरासी लगायत आसपासका जिल्लाका ग्राहकलाई सेवा दिने लक्ष्य राखेको कम्पनीले जनाएको छ। यसबाट फोटोनका सवारीसाधन तथा सेवामा ग्राहकको पहुँच अझ सहज हुने विश्वास गरिएको छ।

आयोजित उद्घाटन कार्यक्रममा एमएडब्लु वृद्धि कमर्सियल भेहिकल्स प्रालिका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार बराल र फोटोन नेपालका कन्ट्री म्यानेजर साइरस ले संयुक्त रूपमा रिबन काटेर शोरुम उद्घाटन गरेका थिए।

बुटवलको मणिग्राममा स्थापना गरिएको उक्त शोरुम ३एस (सेल्स, सर्भिस र स्पेयर पार्ट्स) सुविधासहित सञ्चालनमा आएको छ। एउटै स्थानबाट सवारी बिक्री, मर्मत सेवा र जेन्युइन स्पेयर पार्ट्स उपलब्ध हुने भएकाले ग्राहकले सहज र भरपर्दो सेवा प्राप्त गर्ने कम्पनीको भनाइ छ।

कार्यक्रममा बोल्दै एमएडब्लु वृद्धि कमर्सियल भेहिकल्स प्रालिका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार बरालले बुटवलमा शोरुम विस्तारलाई व्यापार वृद्धिसँगै दीर्घकालीन लगानीको महत्वपूर्ण हिस्सा भएको बताए। उनले कम्पनीले हरेक चरणमा गुणस्तरीय सेवा र ग्राहकको विश्वासलाई प्राथमिकतामा राख्दै काम गरिरहेको उल्लेख गरे।

कम्पनीले देशभर आफ्ना ग्राहकसम्म प्रत्यक्ष पहुँच विस्तार गर्दै सेवा र विश्वसनीयताको स्तर अझ सुदृढ बनाउने प्रतिबद्धता समेत व्यक्त गरेको छ।

फोटोनको आधिकारिक वितरक एमएडब्लु वृद्धि कमर्सियल नेपालमा व्यावसायिक सवारीसाधन आपूर्ति गर्दै आएको कम्पनी हो। कम्पनीले देशभर विस्तार हुँदै गएको शोरुम तथा सेवा केन्द्रमार्फत अन्तर्राष्ट्रिय स्तरको सेवा उपलब्ध गराउँदै आएको जनाएको छ।

प्रकाशित: १६ असार २०८३ १९:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App