१९ चैत्र २०८१ मंगलबार
image/svg+xml ०:१६ पूर्वाह्न
बजार

व्यापारमा निस्किँदै टन्डन महिला, टिकटकबाटै महिला उद्यमी बनेकी दिपाली

नेपालगन्जकी दिपाली गुप्ता टन्डनले महिला उद्यमी संघ बाँकेले नेपालगन्जमा सञ्चालन गरेको प्रदर्शनीमा बिक्रीका लागि राखेका अचार र मसालाका परिकार । तस्विरः गणेश विशु/नागरिक

टन्डन परिवारमा प्रायः घरभन्दा बाहिरको व्यवसाय पुरुषले सम्हाल्ने र महिला गृहणीको रुपमा बस्ने चलन छ । जसले पढेलेखेका सक्षम महिलाले आफ्नो क्षमता प्रसफुटन गर्न पाइरहेका हुँदैनन् । उनीहरुलाई बाहिर आउन नदिनु, विभेद गरेको भने होइन । यसलाई उनीहरुले प्रतिष्ठासँग जोड्छन् । यस परिवार आर्थिकरुपले सवल हुँदा महिलालाई घर बाहिर मेहेनत गराउनु पुरुषलाई लज्जासपद हुने कूरुति भने छ ।

तर, यही कुरुतिका विरुद्ध नेपालगन्जकी दिपाली गुप्ता टन्डनले आट र साहस जुटाएकी छिन् । यो परिवारबाट पहिलोपटक उनले आफ्नो सीप र क्षमताअनुसारको व्यवसाय सुरु गरेकी छिन् । घरपरिवार चलाउनलाई उनले छुट्टै व्यवसाय गर्नुपर्ने बाध्यकारी अवस्था भने थिएन, छैन । छ त आफ्नो रुचिअनुसारको व्यवसाय गर्ने । किनकी उनका श्रीमानको इलेक्ट्रिकल, पेन्टिङ र हार्डवयर पसल छ  । तर, यसले उनीभित्र भएको सीप र क्षमताको कदर गर्दैन ।

सामाजिक काममा व्यस्त उनीलाई हरबखत पैसा आवश्यक पर्थ्यो । एक ठाउँबाट अर्काे ठाउँ जाने होस् या कसैलाई सहयोग गर्न किन नहोस् । उनका अगाडि पैसाको समस्या आइहाल्ने । उनलाई पैसा नपुग भने थिएन । चाहेका बेला श्रीमानले माग्दा कहिलै हैनछैन भनेनन् । तर, दिपालीलाई भने श्रीमानसँग कति माग्ने ? कहिले हुन्छ होला, कहिले हुँदैन होला तर, पनि मैले पैसा लिइरहेकी हुन्छु लाग्थ्यो ।

यही चिन्तनका बीच टिकटकमा महिला उद्यमशीलताका विषयमा एउटा सामग्री देखियो । त्यो उनले घोत्लिएरै हेरिन् । टिकटकमा अचार बनाउने उपाय खोजिन् । अनि उनले यही अचार बनाउने उद्यम गर्ने निर्णयमा पुगिन् । श्रीमानसँग व्यापारको प्रस्ताव राख्दा अस्वीकार भयो । माइत गएर आमालाई मनाउन खोजे पनि मान्नु भएन । तर, जानेको उद्यम गर्न उनको हुटहुटी जबरजस्त उनले सुरु गरिन् । घरपरिवारको सहयोग हुने कुरै भएन । घर व्यवहारसँगै श्रीमानले सञ्चालन गरेको पसल रेखदेखपछि बचेको समय आफ्नो उद्यममा लगाइन् । यो व्यवसाय गरेको अढाई वर्ष भयो । उनले सोचेभन्दा राम्रो व्यापार भएको छ । अहिले घर परिवारले पनि सघाउन थालेका छन् ।

टन्डन परिवारमा मिठो खानाका परिकार, अचारलगायका सीप अनिवार्य सिक्न जरुरी छ । भनिन्छ, नत्र विवाहसमेत हुन गाह्रो हुन्छ ! ‘मैले विवाहभन्दा पहिला नै यो सीप सिकेको थिएँ । दादीनानीसँग सिकेको थिएँ,’ उनले भनिन्, ‘अहिले यो सीप काम लागेको छ ।’ टन्डन परिवारमा महिलालाई घर बाहिरको काममा लगाउने परम्परा भएको भन्दै उनले भनिन्, ‘पढेलेखे पनि घरभित्र बस्नुपर्छ । अब यसलाई परिवर्तन गर्नुपर्छ । घरभन्दा बाहिर आएर जागिर, व्यवसाय गर्नुपर्छ । इमान्दारीताका साथ व्यवसाय गर्दा परिवारमा आँच आउने होइन अझ सम्मान पढ्छ ।’ सीप र क्षमता भएका महिला बाहिर आउनुपर्ने बताइन् । ‘मेरो श्रीमानलाई व्यवसायको प्रस्ताव राख्दा मान्नु भएन,’ उनले त्यतिबेलाका कुरा सुनाउँदै भनिन्, ‘उहाँले भन्नुहुन्थ्यो, तिमीलाई पैसा पुगेकै छ । तिमीले बाहिर काम गर्दा समाजले नकारात्मक सोच्छ ।’ तर, अहिले श्रीमानले बजारीकरणमा सहयोग पु¥याउने गरेको उनको भनाइ छ । आयआर्जन गर्न थालेपछि परिवारले सकारात्मकरुपले हेर्ने गरेको उनी बताउँछिन् ।

यो सब उनको लगनशीलता, मेहेनत, आँट, आत्मविश्वास र इमान्दारीताले सम्भव भएको हो । यो व्यवसायबाट सन्तुष्टि भएको भन्दै उनले भनिन्, ‘अचार बनाउन गाह्रो नहुने र कच्चा पदार्थ सहजै उपलब्ध हुन्छ ।’ हामीले प्रयोग गर्ने टमाटारलगायतका तरकारी फाल्नुभन्दा यसबाट तरकारीका लागि आवश्यक पर्ने मसला तयार गर्न सकिने उनले बताइन् । उनको वार्षिक आम्दानी एक करोडभन्दा माथि पुग्छ । उनी महिला उद्यमी संघ नेपाल बाँकेको सदस्यसमेत छिन् । जसबाट उनले ३० देखि ४० वटा तालिममा प्रशिक्षकको भूमिका निर्वाह गरिसकेकी छिन् ।

अहिले घरको प्रतिष्ठामा आँच होइन, अझ बढी सम्मान प्राप्त भएको छ । महिलालाई पनि आयआर्जनमा लगाउँदा उनीहरुको आत्मसम्मान र रुचि सम्बोधन गरेको मात्र नभइ घरको आर्थिक भारमा समेत सहयोग पुग्ने उदाहरण यस परिवारले प्रस्तुत गरेको छ ।

यसरी महिला सक्षम भएर बाहिर आउनु सकारात्मक भएको टन्डन परिवारका अगुवा अजय टन्डनले बताए । पहिलेभन्दा अहिले केही सुधार भएको उनी बताउँछन् । ‘पहिले त महिला घरभन्दा बाहिर निस्कनै पाउदन्थ्ये । निस्के पनि मुख नदेखाएर । महिलाको मुखै हेर्न पाइँदैन्थ्यो,’ उनले भने, ‘अहिले पूरै त हटेको छैन तर, बिस्तारै त्यस्तो परम्परा हट्दैछ ।’

सीप भएर घरभित्र गुम्सिएका महिलालाई उद्यममा लगाउन महिला उद्यमी महासंघले ठूलो मेहेनत गरेको छ । बेलाबेला लगाउने प्रदर्शनी मेलाले उनीहरुलाई बाहिर आउन प्रेरणा मिल्ने गरेको महिला उद्यमी महासंघकी केन्द्रीय अध्यक्ष शोभा ज्ञवालीले बताइन् । ‘टन्डन परिवारबाट पनि व्यवसाय सुरु गर्न थाल्नु भएको छ,’ उनले भनिन्, ‘हरेक महिला अब गृहणी मात्र होइन आयआर्जनका लागि उद्यमी पनि बन्नुपर्छ ।’ उद्यमशीलता आफू सक्षम हुने कुरा हो,’ उनले भनिन् ।

प्रकाशित: ८ फाल्गुन २०८१ १९:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App