एभियाक्लब पोखराले सगरमाथा हिमाल, त्यस वरपरका चुचुरा र कोशी टप्पु क्षेत्रको दृश्यावलोकन गर्नेगरी राजविराजबाट अल्ट्रालाइट वायुयानको उडान परीक्षण गरेको छ । सो परीक्षणका लागि बिहीबार जनकपुर विमानस्थलबाट एभियाक्लबको अल्ट्रालाइट वायुयान राजविराज हुँदै सगरमाथाका लागि उडान भरेको छ ।
मूलतः भारतीय पर्यटकमा हिमाल तथा कोशी नदी प्रणालीको दृश्यावलोकनप्रति कायम रुचिलाई ध्यानमा राखेर मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले राजविराजबाट अल्ट्रालाइट वायुयान सञ्चाल गराउन नागरिक उड्ड्यन प्राधिकरणलाई आग्रह गरेका थिए ।
प्राधिरणका सहनिर्देशक देवचन्द्रलाल कर्णले एभियाक्लबको अल्ट्रालाइट वायुयान सगरमाथाको चुचुरो देखिने गरी राजविराजबाट बिहीबार उडान भरेको जानकारी दिए । उडान सफल र व्यावसायिक रूपमा नाफामूलक देखिएमा भविष्यमा राजविराज विमानस्थललाई केन्द्र बनाई सगरमाथा दर्शन गराइने कर्णको भनाइ छ ।
हेलिकोप्टरबाट सगरमाथाको दृश्यावलोकन महँगो भएको र जहाजबाट दृश्यावलोकनको पूर्ण आनन्द प्राप्त गर्न नसकिने हुँदा तुलनात्मक रूपमा सस्तो अल्ट्रालाइट वायुयान पर्यटकका लागि आकर्षक तथा रोज्नेयोग्य हुनसक्छ । एक यात्रु लिएर उड्ने अल्ट्रालाइट वायुयानबाट सगरमाथा दर्शन गर्न प्रतिव्यक्ति १५ हजार रुपैयाँसम्म खर्च हुने अनुमान छ ।
प्रकाशित: २४ माघ २०८१ १६:३० बिहीबार