१७ फाल्गुन २०८२ आइतबार
image/svg+xml
अपराध

लमजुङमा युवकको हत्या, २४ घण्टा नबित्दै अभियुक्त पक्राउ

लमजुङको राईनास नगरपालिकामा एक युवकको हत्या भएको २४ घण्टा नबित्दै प्रहरीले घटनामा संलग्न अभियुक्तलाई पक्राउ गरी सार्वजनिक गरेको छ।

जिल्ला प्रहरी कार्यालय लमजुङले मादक पदार्थ सेवनपछि भएको विवादमा साथीले नै ढुंगाले प्रहार गरी हत्या गरेको निष्कर्ष निकालेको छ।

प्रहरीका अनुसार राईनास नगरपालिका-४, सातबिसेस्थित निर्माणाधीन नगर अस्पतालमा रेखदेखको काम गर्ने सिन्धुली कमलामाई नगरपालिका-१० घर भएका २२ वर्षीय विशाल दाहालको हत्या भएको हो। उनको शव असोज १२ गते साँझ आफू सुत्ने कोठामा मृत अवस्थामा फेला परेको थियो।

मृतक दाहालको शव घोप्टो परेको अवस्थामा टाउकोको पछाडिपट्टि गहिरो चोट लागेको र रगतले लतपतिएको ढुंगा शव नजिकै फेला परेपछि प्रहरीले हत्याको आशंकामा अनुसन्धान अघि बढाएको थियो।

प्रहरी चौकी तिनपिप्लेबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको टोलीले घटनास्थलको ढोका बाहिरबाट बन्द रहेको तर झ्याल खुला रहेको अवस्थामा फेला पारेको थियो।

तत्काल गण्डकी प्रदेश प्रहरी कार्यालयबाट तालिमप्राप्त कुकुरसहित जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायव उपरीक्षकको टोली घटनास्थल पुगेको थियो।

अनुसन्धानका क्रममा प्रहरीले मृतक दाहाल पछिल्लो समय राईनास-३ का ३० वर्षीय सागर परियारसँगै हिँडडुल गर्ने र मादक पदार्थ सेवन गर्ने गरेको तथ्य फेला पारेपछि उनीमाथि निगरानी बढाएको थियो।

अभियुक्त परियार सदरमुकाम बेसीशहरमा एक साथीकोमा लुकेर बसेको सूचनाका आधारमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो।

जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी तथा प्रहरी निरीक्षक राज किशोर साह तेलीका अनुसार, प्रारम्भिक सोधपुछका क्रममा परियारले आफ्नो अपराध स्वीकार गरेका छन्।

परियारले प्रहरीसमक्ष दिएको बयानअनुसार, असोज ११ गते साँझ उनीहरूले रक्सी र मासु लिएर मृतक दाहाल बस्ने कोठामा गई सेवन गरेका थिए।

सोही क्रममा राति अबेर दुई जनाबीच विवाद बढ्दै जाँदा आफूले नजिकै रहेको ढुंगाले दाहालको टाउकोमा प्रहार गरी हत्या गरेको उनले स्वीकार गरेका छन्।

प्रहरीले आफन्त, जनप्रतिनिधि र स्थानीयको रोहवरमा शवको मुचुल्का उठाएर पोष्टमार्टमका लागि जिल्ला अस्पताल, लमजुङ पठाएको छ।

पक्राउ परेका परियारलाई हिरासतमा राखी थप अनुसन्धान कार्य अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रकाशित: १३ आश्विन २०८२ १४:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App