जहाँ एउटा बालिकाले विद्यालयको कक्षाकोठामा भविष्यका सपना देख्नुपर्ने थियो, तर त्यही उमेरका प्रायः बालिका अहिले उपत्यकाका खाजा घर र गेस्टहाउसका अँध्यारो संसारमा धकेलिइरहेका छन् ।
दाङ तुलसीपुरकी १३ वर्षीया एक बालिकाको बाल्यकाल नै पारिवारिक विखण्डनको पीडाले भरिएको थियो । चार वर्षकै उमेरमा उनकी आमा रोजगारीका लागि कुबेत गएकी थिइन् । आमाको काखमा हाँस्ने र खेल्ने उमेरमा उनी बाबुबाट पनि छायामा परिन् । आमा बिदेसिएलगत्तै ती बालिकाका पिताले पनि दोस्रो विवाह गरे । त्यसपछि उनलाई पिताले दिने माया र ममता पनि घट्न थाल्यो ।
‘मलाई घरमा कसैको माया महसुस हुँदैनथ्यो’, मानव बेचबिखन अनुसन्धान ब्युरोमा ती बालिकाले बताइन् । घरको चारदिवार उनको पक्षमा थिएन । घरमा आफ्नाहरू भएर पनि उनको मन भरिएको थिएन । आमा बिदेसिएसँगै उनका दिनहरू नारकीय जस्तो भएपछि मामाघरको पालनपोषणमा हुर्किंदै थिइन् ।
कक्षा ८ सम्म पढेपछि उनले पढाइलाई पनि पूर्णबिराम दिइन् । यहीबिच छिमेककी मनीषा क्षेत्रीले ती बालिकालाई ‘काठमाडौं घुम्न जाऔं, राम्रो काम पनि लगाइदिन्छु’ भन्दै दिनहुँ फकाउन थालिन् । काठमाडौं सहरको मोह र राम्रो आम्दानीको प्रलोभनमा ती बालिका परिन् । ‘मैले परिवारबाट माया पाएकी थिइनँ’, उनी भन्छिन्, ‘त्यसैले दिदीका कुरामा विश्वास गरेर काठमाडौं जान तयार भएँ ।’
२०८२ भदौ २४ गते उनी कसैलाई जानकारी नै नदिई तुलसीपुरबाट नेपालगन्ज हुँदै काठमाडौं आइन् । काठमाडौंमा सुनौला दिनहरू आउँछन् भनी उनको कान छिमेकी दिदी मनीषाले भरेकी थिइन् । ‘मनीषा दिदीले बसको टिकट काटिदिएर राधिका नामकी महिलाको नम्बर दिएर मलाई काठमाडौं पठाउनुभयो’, ब्युरोमा उजुरी दिन आएकी ती बालिकाले भनिन् ।
भोलिपल्ट काठमाडौं बसपार्क पुगेकी ती बालिकालाई राधिका नाम गरेकी एक महिलाले काठमाडौंस्थित ‘सुदूरपश्चिम खाजा घर’ पुर्याउँछिन् । काठमाडौंमा कमाउने उद्देश्यले आएकी उनलाई सामान्य कामका लागि राखिएको बताइन्, तर उनको सुरुकै दिन अन्धकारमय भयो । त्यही रात उनको जीवनले भयावह मोड लियो ।
‘राधिका दिदीले मलाई मःमः खान जाऊँ भन्दै नचिनेको केटासँग पठाउनुभयो’, उनी भन्छिन्, ‘मैले किन जाने हो र ? भनेर प्रश्न गर्दा केही काम छ मात्रै भन्नुभयो । त्यसपछि त्यो केटाले मलाई बसपार्कस्थित खप्तड सुदूरपश्चिम गेस्टहाउसको कोठा नम्बर १०१ मा पुर्यायो ।’
उनी पुनः सम्झन्छिन्, ‘कोठामा पुग्न नपाउँदै त्यो केटाले मेरो शरीर मुसार्ने काम गर्यो । मैले प्रतिवाद गर्दा शारीरिक सम्बन्धका लागि ६ हजार रुपैयाँ तिरेको बतायो । मेरो बोली बन्द भयो । कहिल्यै नआएको काठमाडौं सहरमा मेरो कोही थिएन । बन्द कोठामा रोएको आवाज बाहिर कसैले सुनेनन् ।’
उनका अनुसार केही समयपछि भागेर खाजा घरतिर फर्कंदा खाजा घर नै बन्द भइसकेको थियो । यो बिरानो सहरमा जाने ठाउँ कहीं थिएन । आफू पुनः त्यही गेस्टहाउसकै अर्को कोठामा रात बिताएको ब्युरोसँग उनले बताइन् ।
भोलिपल्ट घामको झुल्कोसँगै खाजा घर पुगेकी उनलाई धम्की, गाली र डर देखाएर वेश्यावृत्तिमा धकेलिदिएको उनको आरोप छ । ‘राधिका दिदीले तैंले काम गर्नुपर्छ, तेरो जाने ठाउँ कतै छैन भन्दै गाली गर्नुहुन्थ्यो । काठमाडौंमा यस्तै काम पाउने हो । योभन्दा राम्रो काम पाउन धेरै पढ्नुपर्छ भन्दै मलाई फकाउन थाल्नुभयो’, पीडित ती बालिकाले भनिन् ।
खाजा घरमा आउने ग्राहकलाई केटी देखाइन्थ्यो । ग्राहकले रोजेपछि रकम लिएर गेस्टहाउस पठाइन्थ्यो । दिनमा एक हजारदेखि चार हजार रुपैयाँसम्म लिइने गरिएको पीडा उनले पोख्दै भनिन्, ‘हामीलाई ग्राहकले छान्थे अनि गेस्टहाउसको कोठामा पठाइन्थ्यो ।’
पीडित बालिकाका अनुसार राधिका गिरी, उनका श्रीमान् हरिभक्त गिरी र गेस्टहाउस सञ्चालक भीमबहादुर साउदबिच मिलेमतो थियो । ग्राहक आएपछि फोन गरेर बोलाउने र रकम लिएर पठाउने काम हुने गरेको उनी बताउँछिन् । ‘राति सुतिरहेका बेलामा पनि उठाएर ग्राहकसँग शारीरिक सम्बन्ध राख्न पठाइन्थ्यो’, उनी भन्छिन्, ‘रातको १२–१ बजे पनि सुत्न दिँदैनथे ।’ उनले आफूलाई दैनिक तीनदेखि पाँचजना ग्राहकसँग पठाइने गरेको बताइन् । ग्राहकसँग पठाउँदा कहिले सेफ्टी (कन्डम) हुन्थ्यो त कहिले नभएको उनको अनुभव छ ।
आफूले बेचेको इमानको आम्दानी पनि नपाएको उनी भन्छिन्, ‘पैसा माग्दा छैन, दिन्न समेत भन्थे । बस्ने कोठाको भाडा पनि मैले कमाएको पैसाबाट काटिन्थ्यो ।’ यसरी नाजुक तथा कमजोर आर्थिक अवस्थाको फाइदा लिई आर्थिक प्रलोभनमा पारेर आफूलाई वेश्यावृत्तिमा लगाउन थालेको उनी सुनाउँछिन् । यौन प्यास मेटाउन एकदुई घन्टाका लागि आएका ग्राहकसँग सधैं हाँसीखुसी रहनुपर्ने ती पीडित बालिकाको बाध्यता थियो ।
त्यसरी नै दिनहरू बित्दै गर्दा मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले सुदूरपश्चिम खाजा घरमा छापा मारेर उनलाई उद्धार गरेको थियो । त्यसपछि उनलाई सुरक्षित आवासगृहमा राखियो । उद्धारपछि मात्रै आफू मानव बेचबिखन तथा ओसारपसार सञ्जालमा परेको थाहा पाएको पीडित बालिकाले बताएकी छन् । यस घटनामा संलग्न भीमबहादुर साउद र राधिका गिरीलाई काठमाडौं जिल्ला अदालतको आदेशबाट पुर्पक्षका लागि थुनामा पठाएको छ ।
त्यसैगरी कमजोर आर्थिक अवस्थाको फाइदा उठाई ललाइफकाइ डर त्रासमा पारी शारीरिक तथा मानसिक यातनामा परेकी दूरदराजकी अर्की नाबालिका पनि छिन् । उनी पनि आफूलाई जबर्जस्ती यौनकार्यमा लगाएको भन्दै न्यायका लागि ब्युरोमा उजुरी दिएकी थिइन् ।
गुल्मीमा जन्मिएकी १३ वर्षीया बालिकाको पढ्ने, खेल्ने र सपना बुन्ने समय थियो । तर गुल्मीबाट काठमाडौं आइपुगेकी ती बालिकाको जीवनले पनि अभाव, पीडा र शोषणको बाटो समात्न बाध्य भयो । अन्ततः उनी यौन कार्यमा बाँधिन थालिन् ।
आर्थिक अवस्था कमजोर भएपछि उनको विद्यालय छुट्यो । आमाले दोस्रो विवाह गरेर टाढिएपछि बालिकाको काँधमा आफ्नै पेट पाल्ने जिम्मेवारी आयो । ‘घरको अवस्था कमजोर थियो, आमाले पनि दोस्रो विवाह गरेर जानुभयो, त्यसपछि आफ्नै गुजाराका लागि आफैंले काम गर्नुपर्यो’, पीडित बालिकाले भनिन् ।
काठमाडौं आइपुगेकी उनी कामको खोजी गर्दै सिन्धुलीको गढीमाई खाजा घर एन्ड गेस्टहाउससम्म पुगिन् । मासिक तीन हजार रुपैयाँ तलबमा तीन महिना काम गरिन्, तर त्यो पैसाले जीवन धान्न कठिन भएपछि उनी फेरि अर्को कामको खोजीमा निस्किइन् ।
पछि चिनजानकी एक महिलाले ‘१० हजार रुपैयाँ तलब दिन्छु’ भन्दै पेप्सीकोलास्थित बर्गर हाउसमा काम लगाइन् । त्यहाँ ६ महिनासम्म भाडा माझ्ने र सरसफाइको काम उनले गरिन् । तर तलब भने कहिल्यै पाइनन् । ‘६ महिनासम्म काम गरें, तर एक पैसा पनि पाइनँ’, उनले पीडा पोखिन् । त्यसपछि उनी कोटेश्वरस्थित कमलामाई खाजा घर एन्ड गेस्टहाउसमा पुगिन् । सुरुमा सरसफाइ र भाडा माझ्ने काममा लगाए पनि एक महिनापछि उनको जीवनले पनि भयावह मोड लियो ।
उनका अनुसार एक दिन ‘भक्ते’ भनेर चिनिने व्यक्तिले मलाई गेस्टहाउसको कोठामा खाजा पुर्याउन पठायो । त्यहाँ पुगेपछि एक ग्राहकले जबर्जस्ती शारीरिक सम्पर्क राख्न खोजेको उनको तीतो अनुभव बताइन् । ‘मैले यस्तो काम गर्न आएको होइन, म शारीरिक सम्पर्क राख्दिनँ भनें’, उनले भनिन्, ‘तर तिमीलाई भक्तेले नै पठाएको हो, मैले पैसा दिइसकेको छु भन्दै ममाथि अन्याय गर्यो ।’ त्यसपछि आफू बाध्य भएर शारीरिक सम्पर्क राख्नुपरेको उनले आफ्नो पीडा पोखिन् ।
उक्त यौन सम्पर्कपछि विरोध जनाउँदा उल्टै पाँच दिनसम्म कोठामा थुनेर खानासमेत नदिइएको उनको दुखेसो छ । ‘अब यस्तो काम गर्दिनँ भन्दा मलाई पाँच दिनसम्म थुनेर राखियो’, उनले भनिन् । पछि उनलाई ‘अन्य युवतीले पनि यही काम गर्छन्, आम्दानी राम्रो हुन्छ’ भन्दै बारम्बार ग्राहकसँग पठाइएको आरोप छ ।
ती बालिकाका अनुसार गेस्टहाउस सञ्चालक तथा त्यहाँ कार्यरत अन्य व्यक्तिले ग्राहक खोज्ने, रकम लिने र युवतीलाई शारीरिक सम्पर्कका लागि पठाउने काम गर्थे । हामीलाई हलमा राखेर ग्राहकलाई देखाइन्थ्यो, उनीहरूलाई हामी मन परेपछि यौन सम्पर्कका लागि कोठामा जान तयार हुनुपथ्र्यो । त्यस हलमा सामेल आफूजस्तै अन्य पाँच/छ जना बालिका तथा युवती पनि हुन्थे, जसलाई जबर्जस्ती वेश्यावृत्तिमा लगाइने गरेको उनी बताउँछिन् ।
दैनिक ८/९ जनाभन्दा बढीसँग यौन सम्पर्कमा सामेल हुनुपरेको उनको आफ्नै पीडा छ । यसरी खाजा घर एन्ड गेस्टहाउसमा आएका ग्राहकसँग शारीरिक सम्पर्क राख्दै गर्दा एक संस्थाको समन्वयमा मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले उक्त खाजा घर एन्ड गेस्टहाउसमा छापा मारेर पीडितसहित अन्य बालिका तथा युवतीको उद्धार गरेको थियो । त्यसपछि उनलाई सुरक्षित आवास गृहमा राखेर परामर्श गरिएको हो । घटनापछि पीडितले आफूलाई आर्थिक लाभका लागि जबर्जस्ती वेश्यावृत्तिमा लगाइएको भन्दै मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी कसुरमा ब्युरोमा जाहेरी दिएकी छन् ।
यस प्रकरणमा प्रतिवादी बनाइएका भत्ते भनिने भक्तबहादुर शाही र विक्रम आले मगरलाई काठमाडौं जिल्ला अदालतको आदेशबाट पुर्पक्षका लागि थुनामा पठाएको छ । ब्युरोका प्रहरी एसएसपी कृष्ण पंगेनीका अनुसार आफूमाथि गलत भएको महसुस तथा हीनताबोध भने भित्रभित्रै बालिकाले पालिरहेका हुन्छन् ।
त्यसैले बालबालिका आफूमाथि भएको यौन हिंसाबारे सामान्यतः बोल्न चाहँदैनन् । आफूमाथि हिंसा भएपछि बालबालिकाले असहाय, एक्लो तथा डर महसुस गर्छन् । त्यसैले यौन हिंसालगत्तै यस विषयमा बालबालिकाले बिरलै मुख खोल्ने गरेको उनले नागरिकसँग बताए ।
प्रकाशित: २७ वैशाख २०८३ २०:४४ आइतबार





-600x400.jpg)