१२ चैत्र २०८२ बिहीबार
image/svg+xml
अपराध

यामबहादुरको साबिति बयानः आमाको घाँटीमा खुँडाले तीन चोटी हाने

धादिङको त्रिपुरा सुन्दरी गाउँपालिका–५ का २७ वर्षीय यामबहादुर कँडेल जेन–जी आन्दोलनका क्रममा प्रहरीसँग बाँझिएर चर्चामा आएका थिए। उनै यामबहादुरले असोज १९ गते राममाया कँडेललेका वीभत्स हत्या गरे।

त्यो दिन काठमाडौंबाट धादिङ पुगेका यामबहादुरले आमाबुबासँग झगडा गरेका थिए। झगडा गरिसकेपछि धारिलो हतियार खुँडा प्रयोग गरेर आमा राममायाको घाँटी छिनालेर हत्या गर्न भ्याएका थिए।

घटनापछि प्रहरीले उनलाई पक्राउ गरेको थियो। उनले आमाको हत्या आफैले गरेको साविति बयान पनि दिइसकेका छन्। प्रहरीको प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय धादिङले उनीमाथि धादिङ जिल्ला अदालतमा कर्तव्य ज्यानमा मुद्दा दर्ता पनि गरिसकेका छन्।

यस्तो छ अभियुक्त यामबहादुरको बयान

यामबहादुरले आफू वैदेशिक रोजगारीमा मलेसियामा बस्दा कमाएको रकम आमाबुबालाई पठाएको, तर त्यो रकम सञ्चित नगरिदिएको प्रहरीसमक्ष बयान दिएका छन्।

‘मैले पठाएको रकम बुबा, आमाले घरमा खर्च गरिदिएको र सञ्चित नगरिदिएको हुनाले बुबा, आमासँग मेरो मनमुटावको अवस्था रहेको थियो,’ उनले बयानमा भनेका छन्।

नेपाल आइसकेपछि हाल आफू काठमाडौंमा मोटरसाइकलमार्फत पठाओ राइडर तथा ट्रेकिङ गाइडको काम गरेर जिविकोपार्जन गर्दै आएको प्रहरीसँग भनेका छन्।

‘मैले आयआर्जन गरेको रकमले मलाई नै खान बस्न खर्च हुने र दाजुहरूले विदेशमा बसी धेरै रकम आयआर्जन गर्ने हुनाले मेरा बाबुआमाले मलाई ‘दाइहरूले विदेशमा पैसा कमाउँछन्, तैंले केही गर्दैनस्’ भनी पटक/पटक हेलोहोचो गर्ने गरेको हुँदा सो कुराबाट समेत मलाई बाबुआमाप्रति रिस उठिरहेको थियो,’ यामबहादुरले बयानमा भनेका छन्।

घटनाको सात दिन अघि असोज १२ गते म काठमाडौंबाट घरमा आउँदा पनि आमाबुबाले पैसाको विषयमा कुरा गरेको उनले बताएका छन्।

फेरि घटनाको दिन घर पुग्दा ‘साँझको अन्दाजी २०ः३० बजेको समयमा’ आमाको कुराले आफू रिसाएको उनले भनेका छन्।

‘म आफ्नो कोठामा सुत्न लागेकोमा आमाले मलाई ‘तँ अर्को कोठामा गएर सुत’ भनी मेरो कपडाहरू म सुत्न लागेको कोठाबाट अर्को कोठामा लगिदिएकाले विगत देखि नै आमाबुबाले मलाई मानसिक दबाब दिइरहने हुँदा ’आमालाई खुँडा प्रहार गरी मार्ने योजना बनाएको’ हुँ उनले बयानमा भनेका छन्। 

‘म सुत्ने कोठामा रहेको फलामको हतियार खुँडा निकाली, एक हातले फलामको खुँडा समाते भने अर्को हातले आमाको कपालमा समाती कोठाबाट बाहिर निकाली घर अगाडिको आँगनमा पुर्‍याइ खुँडाले आमाको घाँटीमा प्रहार गरेँ,’ उनको बयानमा अगाडि उल्लेख छ।

त्यसपछि खुँडाको पहिलो प्रहारबाट आमा राममाया घरको आँगनमा ढलेको बयानमा भनेका छन्।

‘आँगनमा ढलेपछि आमाको घाँटी नछिनिएको हुँदा पुनः दुईपटक घाँटीमा प्रहार गरी आमाको घाँटी शरीरबाट छिनाली घाँटीदेखि माथिको भाग टाउकोलाई शरीरबाट अलग गरी केही पर फालिदिएको हुँ,’ यामबहादुरको बयानमा उल्लेख छ।

घटना हुँदा बुबा गोपबहादुर कँडेल पनि त्यहीँ रहेको उनले बयानमा स्वीकारेका छन्। उनले त्यसपछि अगाडि भनेका छन्, ‘त्यसपछि मैले पुनः मेरो पिता गोपबहादुर कँडेलको गर्धनमा खुँडा राखी विभिन्न अश्लील शब्दहरू प्रयोग गरी बुबालाई पनि मुक्का प्रहार गरी धाकधम्की दिएँ।’

आमाको ज्यान लिएपछि स्थानीय मानिसहरूले आफूलाई कुटपिट गर्न सक्छन् भन्ने सोचेर आमाको हत्या गर्न प्रयोग भएको खुँडा नै समातेर बसिरहेको यामबहादुरले प्रहरीसँग भनेका छन्। त्यसपछि प्रहरी आएको भनेका छन्।

‘..खुँडा हातमा समाती बसिरहेको अवस्थामा प्रहरीहरू मेरो घरमा आइपुगी मलाई मैले हातमा समातेको खुँडा जमिनमा फाल भनेपछि फलामको खुँडा जमिनमा फाल्नासाथ प्रहरीले मलाई पक्राउ गरेको हो,’ यामबहादुरले बयानमा अगाडि भनेका छन्।  

बुबाआमासँग पारिवारिक मनमुटावकै कारण आमा राममायाको खुँडाले घाटी छिनालेर हत्या गरेको यामबहादुरले साविति बयान दिएका छन्।  

उनीमाथि जिल्ला सरकारी वकिल कार्यालयले जिवित रहेसम्म कारागारमा रहनेगरी जन्मकैदको सजाय मागदाबी गरेको छ।

प्रकाशित: १४ कार्तिक २०८२ १६:३९ शुक्रबार