२० मंसिर २०८२ शनिबार
image/svg+xml
अपराध

फरार कैदीबन्दी समयमै नफर्किए थप सजाय के हुन्छ ?

जेन–जी आन्दोलनअघिसम्म देशभरका कारागारमा ३० हजार ६४६ जना कैदीबन्दी थिए। आन्दोलनकै क्रममा भदौ २३ गते प्रदर्शनकारीमाथि राज्यपक्षबाट दमन भएपछि दोस्रो दिन (भदौ २४ गते) देशैभर हिंसा भड्कियो। सोही क्रममा देशभरका कारागारबाट धमाधम कैदीबन्दीहरू भाग्न थाले।  

कारागार व्यवस्था विभागका अनुसार ९ बालसुधार गृह र २८ कारागारबाट कुल १४ हजार ५५३ जना कैदीबन्दी भागेका थिए। जसमध्ये शुक्रबार ४ बजेसम्म ८ हजार १९८ जना कारागार फर्किएका छन्। अझै ६ हजार ३५४ कैदीबन्दी कारागार फर्किएका छैनन्।  

कैदीबन्दीहरू भाग्दै गर्दा कारागारमा तोडफोड र आगजनीका घटना पनि घटाएका छन्। जसबाट ३१ वटा कारागारमा क्षति पुगेको कारागार व्यवस्था विभागले जनाएको छ।  

मारिएका कैदीबन्दी को-को  थिए?  

कैदीबन्दी भाग्ने क्रममा केही ठाउँमा झडप समेत भयो। जेन–जी आन्दोलनका क्रममा मारिएकामध्ये १० जना कैदीबन्दी पनि छन्, जो भाग्ने क्रममा प्रहरीको गोलीले मारिएका हुन्।  

जसमध्ये धादिङ कारागारमा दुई जनाको मृत्यु भएको थियो। जबरजस्ती करणी कसुरमा कैद सजाय काटिरहेका ६१ वर्षीय जितबहादुर घले र लागुऔषध ओसारपोसार कसुरमा कैद सजाय काटिरहेका ३६ वर्षीय इन्द्रबहादुर डालामगर छन्।  

यस्तै रामेछाप कारागारमा तीन जना भाग्ने क्रममा मारिएका थिए। जसमा मानव बेचबिखन र जबरजस्ती करणीको सजाय काटिरहेका राजकिशोर यादव, कर्तव्य ज्यानको सजाय काटिरहेका विकरू धोबी र मानव बेचविखनको सजाय काटिरहेका मनोज महत छन्।  

यस्तै बाँकेमा रहेको नौवास्ता बालसुधार गृहमा रहेका ५ जना बालबन्दी पनि भाग्ने क्रममा मारिएका थिए। जसमा जबरजस्ती करणीको मुद्दामा सजाय काटिरहेका उमेश विष्ट, विनेश घर्तीमगर, समिर थापा, भुपेन्द्र खत्री र जगत देउवा छन्।  

जेलबाट भाग्ने क्रममा ज्यान गुमाएका कैदीबन्दीका परिवारलाई राहत र आर्थिक सहायता पनि नदिने निर्णय सरकारले गरिसकेको छ। अघिल्लो निर्णयअनुसार जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएकालाई शहीद घोषणा गर्दै आर्थिक सहायता प्रदान गर्ने भनिए पनि पछिल्लो पटक भने कारागारबाट भाग्ने क्रममा मृत्यु भएकालाई त्यो सूचीमा राखेको छैन।  

फरार कैदीबन्दी नफर्किए के हुन्छ?  

जेन–जी आन्दोलनका क्रममा कैदीबन्दी फरार भएका भएको दुई हप्ता बितिसकेको छ। नफर्केका ६ हजार ३५४ कैदीबन्दीमा खुंखार अपराधीदेखि जघन्य अपराधमा सजाय काटिरहेका व्यक्तिसमेत छन्। सोही कारण समाजमा त्रासको वातावरण छ।  

कारागार व्यवस्था विभागले फरार कैदीबन्दीलाई स्वयं फर्कन पटकपटक आह्वान गर्दै आएको छ। तर, अझैँ नफर्केकाले चिन्ता स्वाभाविक बढिरहेको छ।

यस्तो अवस्थामा समाजमा सुरक्षाको प्रत्याभूति गर्ने दायित्व सुरक्षा निकायकै भएको विभागका निर्देशक चोमेन्द्र न्यौपाने बताउँछन्। ‘कारागारबाट भागेका कैदीबन्दीलाई स्वयं कारागार फर्कन सबै कारागारबाट सूचना जारी भएका छन्। नेपाल प्रहरी, मानवअधिकार आयोगलगायतबाट पनि सूचना जारी भएका छन्,’ उनले भने, ‘कैदीबन्दीको खोजी गर्न कार्यदल पनि गठन भएको छ।’  

फरार कैदीबन्दी कारागार नफर्किए कारागार ऐन २०७९अनुसार थप कारबाही हुने उनले बताए। त्यसका लागि विभाग असोज २० गतेसम्मको समय दिएको छ।

‘त्यतिबेलासम्म पनि नफर्किए १० वर्षसम्म कैद र एक लाख जरिवाना वा दुवै सजाय हुनसक्छ,’ निर्देशक न्यौपानेले भने। त्यसबाहेक बाहिर समाजमा सामान्य तोडफोड गरे पनि सोहीअनुसार अतिरिक्त सजाय हुने पनि उनले बताए।  

निर्देशक न्यौपानेले फरार कैदीबन्दीको नामसूची हरेक जिल्ला र प्रहरी कार्यालयमा पुगिसकेको बताए। ‘फरार बन्दी खोजी तथा पक्राउ कार्यदल बनेको छ। त्यसबाट खोजी पनि हुनेछ,’ उनले भने। प्रहरीले सबै स्थानीय स्तरमा पनि फरार व्यक्तिहरूको नाम सार्वजनिक गरिसकेको र सिमानामा निगरानी बढाएको बताए।

प्रकाशित: ११ आश्विन २०८२ १९:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App