नाबालिकामाथि सामूहिक बलात्कार गरेको आरोपमा नेकपा (एमाले) मधेश प्रदेश कमिटी सदस्य एवं जनकपुरधाम उपमहानगरपालिकाका इन्चार्ज शिवशंकर साह ‘हिरा’ पक्राउ परेका छन्।
घटनापछि फरार रहेका साहलाई जिल्ला प्रहरी कार्यालय धनुषाको टोलीले मंगलबार साँझ भारतीय सीमावर्ती सहर सीतामढीबाट पक्राउ गरी जनकपुर ल्याएको हो।
प्रहरीका अनुसार गत कार्तिक २२ गतेदेखि २५ गतेसम्म जनकपुरधामस्थित एक होटलमा नाबालिकालाई राखेर साह सहित चार जनाको समूहले सामूहिक जबरजस्ती करणी गरेको आरोप छ।
सोही घटनामा संलग्न रहेको आरोपमा यसअघि नै मुख्य आरोपी हिराका भाइ मनोज साहलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरी धनुषा ल्याइसकेको छ।
पक्राउ परेका ‘हिरा’ जनकपुरधामको राजनीति र व्यावसायिक क्षेत्रमा प्रभावशाली मानिने व्यक्ति हुन्। उनी २०७९ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेका तर्फबाट जनकपुरधाम उपमहानगरपालिकाको नगर प्रमुख पदका उम्मेदवार थिए।
साथै, उनी नेपाल उद्योग वाणिज्य महासंघ, मधेश प्रदेशका पूर्वअध्यक्ष समेत हुन्।
बलात्कार जस्तो जघन्य अपराधको घटना बाहिर आउन नदिन र गुपचुपमै मिलाउन आरोपी पक्षले पीडित परिवारलाई ठूलो आर्थिक प्रलोभन देखाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
घटनालाई ढाकछोप गर्न र पीडितलाई प्रभावमा पार्न बिचौलियाको भूमिका निर्वाह गर्ने एक व्यक्तिलाई पनि प्रहरीले पक्राउ गरेको छ।
घटना सार्वजनिक भएलगत्तै धनुषा प्रहरीले सक्रियता देखाउँदै पीडित बालिकालाई आफ्नो संरक्षणमा लिएर अनुसन्धान प्रक्रिया अघि बढाएको थियो।
हाल पीडित बालिकालाई सुरक्षित तवरले ‘सेफ हाउस’ मा राखिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
प्रकाशित: २३ मंसिर २०८२ २२:११ मंगलबार





