पछिल्लो समय प्रतिबन्धित गाँजा ओसारपसार तथा बिक्री वितरणमा महिलाको प्रयोग हुन थालेको छ। शनिबार विहान उदयपुरमा दुई अधवैंशे महिला पक्राउ पर्नुले यसको पुष्टि हुन्छ।
उदयपुरगढी ७ चिया कमानबाट प्रहरीले अन्दाजी विहान ६ः४५ बजे दुई महिलालाई प्रतिबन्धित गाँजासहित नियन्त्रणमा लिएको हो। उदयपुरगढी ६ नेपालटारस्थित अस्थायी प्रहरी पोष्टबाट खटेको टोलीले सडकमा झोला बोकेर हिँड्दै गरेका सामान्य पैदल यात्रीलाई चेकजाँच गर्दा गाँजा फेला परेको हो।
११ किलो ८ सय ५२ ग्राम गाँजासहित पक्राउ पर्नेमा प्रतिबन्धित लागूऔषध गाँजा ११.८५२ केजीसहित दुई जनालाई सिरहाको लहान नगरपालिका १७ की ४५ वर्षीया लिलादेवी राम र सोही नगरपालिका ८ की ४० वर्षीया अस्मिता राम रहेका छन्। अज्ञात स्थलबाट आएका उनीहरूको झोलाबाट लुकाईछिपाई राखेको अवस्थामा गाँजासहित पक्राउ गरिएको हो।
बरामद गाँजासहित दुवैलाई शनिबारै दिउँसो सदरमुकामस्थित जिल्ला प्रहरी कार्यालय ल्याइएको छ। उनीहरूलाई हिरासतमा राखेर अनुसन्धान सुरु गरेको प्रहरी प्रवक्ता डिएसपी केदारमान दोङले बताए। उनीहरू कोबाट परिचालित हुन् या आफैँ गाँजा तस्करीमा संलग्न हुन् भन्ने विषयको यकिन भने अनुसन्धानपछि मात्र भन्न सकिने दोङले बताएका छन्।
प्रकाशित: ११ आश्विन २०८२ १४:४१ शनिबार





