अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त नेपाली सेफ सन्तोष कुमार साह बैंकिङ कसुर र ठगी आरोपमा पक्राउ परेका छन्।
उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले शुक्रबार राति धनुषाको जनकपुर उपमहानगरपालिका वडा नम्बर ८, रामानन्द चोकबाट पक्राउ गरेको हो।
गैरीधारास्थित एक रेस्टुरेन्ट खरिद गर्दा बैंकिङ कसुर र ठगी गरेको आरोप साहमाथि छ। उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका एसएसपी सन्तोष खड्काका अनुसार सकुन्तला अधिकारी (थापा) को जाहेरीले वादी नेपाल सरकार र प्रतिवादी साह समेत भएको ठगी सम्बन्धी कसूर मुद्दामा काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति जारी भएको थियो।
अदालतबाट अनुमति पाएपछि फरार रहेका ४१ वर्षीय साहलाई प्रहरीले जनकपुरबाट नियन्त्रणमा लिएको हो। प्रहरीले साहका साथै सोही मुद्दामा संलग्न अर्का एक जनालाई पनि पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिरहाको कर्जन्हा नगरपालिका वडा नम्बर ९ बस्ने ५८ वर्षीय नारायण साह सुडी रहेका छन्।
उनीहरूलाई काठमाडौं जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको छ। शनिबार र आइतबार सार्वजनिक बिदा परेका कारण उनलाई सोमबार मात्रै अदालतमा उपस्थित गराउने प्रहरीको तयारी छ।
सिरहाको कर्जन्हामा जन्मिएका साहले विश्वमा नेपाली खानाको प्रचार गरेर ख्याति कमाएका थिए। उनी सन् २०२० मा बीबीसीको 'मास्टरशेफ: द प्रोफेशनल्स' मा पहिलो रनर-अप भएका थिए भने सन् २०२१ मा 'मास्टरशेफ: द प्रोफेशनल्स रिम्याच' को उपाधि जितेर निकै चर्चामा आएका थिए।
प्रकाशित: ३० जेष्ठ २०८३ ०९:४६ शनिबार





