२८ श्रावण २०८३ बिहीबार
image/svg+xml
अपराध

अनुमति नलिई ऋण कारोबार, टप ग्लोबलकी सञ्चालक पक्राउ

नियामक निकायबाट अनुमति नलिई घरजग्गा धितो राखेर ऋण प्रवाह गरेको आरोपमा काठमाडौंको महाराजगञ्जस्थित टप ग्लोबल इन्भेस्टमेन्ट प्रालिकी सञ्चालक नवीना गुरुङ पक्राउ परेकी छन्।

काठमाडौं महानगरपालिका-३ महाराजगञ्जमा रहेको उक्त कम्पनीले गैरकानुनी रूपमा ऋण प्रवाह गरिरहेको सूचनाका आधारमा जिल्ला प्रहरी परिसर भद्रकालीबाट खटिएको टोलीले गुरुङलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका-१ घर भई हाल महाराजगञ्ज बस्दै आएकी ४१ वर्षीया गुरुङलाई बुधबार साँझ करिब ५ः३० बजे पक्राउ गरिएको हो।

प्रहरी अनुसन्धानका क्रममा कम्पनीले ऋण लिन चाहने व्यक्तिहरूलाई फाराम भराउने, रकम उपलब्ध गराउनुअघि २० प्रतिशत डिपोजिट गर्न लगाउने, फिल्ड भिजिट गर्ने तथा आफूखुसी ब्याजदर निर्धारण गरी ऋण प्रवाह गर्ने गरेको खुलेको छ।

प्रहरीले कम्पनीबाट विभिन्न व्यक्तिका नाममा रहेका बैंकका ७१ थान चेक, विभिन्न कम्पनीका ४ थान सीपीयू र ४ थान मनिटर, ऋण लिनुअघि धरौटीस्वरूप डिपोजिट गरिएको रकमको रसिदका ९ ठेली तथा ऋण लिन प्रयोग गरिने फारामसहित ऋणीहरूको फोटो र विवरण भएका कागजात बरामद गरेको जनाएको छ।

गुरुङविरुद्ध नेपाल राष्ट्र बैंक ऐनसम्बन्धी कसूरमा मुद्दा अघि बढाइएको छ। काठमाडौं जिल्ला अदालतबाट अनुसन्धानका लागि ३ दिनको म्याद थप भई घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

 

प्रकाशित: २८ श्रावण २०८३ ०७:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App