भियतनामदेखि हङकङ हुँदै नेपालको बाटो प्रयोग गरी भारततर्फ तस्करी हुन लागेको ३ किलोग्राम उच्च गुणस्तरको थाई गाँजासहित तीन जना विदेशी नागरिकलाई नेपाल प्रहरीको लागू औषध नियन्त्रण ब्यूरोले पक्राउ गरेको छ।
काठमाडौंको सोह्रखुट्टेस्थित एक होटलमा छापा मारेर प्रहरीले म्यानमारकी एक महिला र उक्त लागुऔषध बुझ्न भारतको गोरखपुरबाट काठमाडौं आइपुगेका दुई भारतीय नागरिकलाई रंगेहात पक्राउ गरेको हो।
बरामद लागुऔषधको भारतमा अवैध बजार मूल्य १ करोड २० लाख भारतीय रुपैयाँ रहेको प्रहरीले जनाएको छ।
ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) दुर्गा राज रेग्मीका अनुसार पक्राउ पर्नेहरूमा २९ वर्षीया म्यानमारकी नागरिक जिन जिन फ्यो तथा भारतको उत्तर प्रदेश गोरखपुर ठेगाना भएका ३० वर्षीय बरकतुल्लाह र २५ वर्षीय युसुफ खान रहेका छन्। उनीहरूका साथबाट ३ केजी गाँजासहित ३ थान राहदानी र ३ थान मोबाइलसमेत बरामद भएको छ।
क्याथे प्यासिफिक एयरवेजमार्फत भियतनामबाट हङकङ हुँदै काठमाडौं ओर्लिएकी म्यानमारकी नागरिक जिन जिन फ्योलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित ब्यूरोको टोलीले शंकास्पद प्रोफाइलका आधारमा निगरानीमा राखेको थियो।
अनुसन्धानका क्रममा उनी काठमाडौं महानगरपालिका-१६, सोह्रखुट्टेस्थित एक होटलमा पुगेको पत्ता लागेपछि आइतबार प्रहरी टोलीले कोठामा खानतलासी गरेको थियो।
सो क्रममा उनको सुटकेसभित्र फल्स बटम बनाई लुकाइएको अवस्थामा ३ केजी थाई गाँजा फेला परेको थियो। लगत्तै उक्त लागुऔषध रिसिभ गर्न गोरखपुरबाट होटल कोठामै पुगेका दुई भारतीय नागरिक बरकतुल्लाह र युसुफ खानलाई पनि प्रहरीले नियन्त्रणमा लिएको हो।
ब्यूरोका अनुसार म्यानमारकी युवती यसअघि सिंगापुरमा सिकर्मीको काम गर्दै आएकी थिइन्। उनी सिंगापुरबाट भियतनाम पुगेर त्यहाँ अर्का म्यानमार नागरिकले दिएको गाँजासहितको सुटकेस बोकेर काठमाडौं आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
काठमाडौंलाई ट्रान्जिट बनाएर भारत लैजाने योजनामा रहेको यस अन्तर्राष्ट्रिय गिरोहमाथि थप कानुनी अनुसन्धान भइरहेको एसपी रेग्मीले बताए।
प्रकाशित: २९ भाद्र २०८३ २१:३७ सोमबार





