१९ चैत्र २०८२ बिहीबार
image/svg+xml
अपराध

नसालु पदार्थ खुवाएर किशोरीमाथि सामूहिक बलात्कार

राप्तीसोनारी गाउँपालिका–९, ढकेरीकी एक १८ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको घटना बाहिरिएको छ। माघ २१ गते साथीको जन्तीमा गएकी ति किशोरीलाई सामूहिक बलात्कार गर्ने चारजना युवक पक्राउ परेपछि घटना बाहिर आएको हो।

घटना माघ २१ गते भएको भए पनि पीडितको मानसिक अवस्था गम्भीर रूपमा प्रभावित भएका कारण उजुरी दिन ढिलाइ भएको खुलेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख तथा प्रहरी उपरीक्षक (एसपी) अंगुर जिसीका अनुसार पीडित किशोरीले हालै मात्र स्वास्थ्यमा सुधार आएपछि प्रहरीसमक्ष उजुरी दिएकी थिइन्। उजुरी प्राप्त भएपछि प्रहरीले घटनाको अनुसन्धानलाई तीव्रता दिएको र संलग्न भनिएका व्यक्तिहरूलाई मंगलबार पक्राउ गरिएको उनले जानकारी दिए।

प्रहरीका अनुसार माघ २१ गते किशोरी आफ्ना साथीसँग विवाह समारोहमा जन्ती गएकी थिइन्। सोही क्रममा ति युवकहरूले उनलाई लठ्ठ हुने खालको नशालु पदार्थ खुवाएर बेहोस बनाएको र त्यसपछि सामूहिक रूपमा बलात्कार गरेको आरोप छ। घटनापछि उनी मानसिक रूपमा अत्यन्तै कमजोर अवस्थामा पुगेकी थिइन्, जसका कारण तत्कालै घटना सार्वजनिक हुन सकेन।

कोहलपुर नगरपालिका–५, रझेना बस्ने २१ वर्षीय आशिष थारू, कोहलपुर नगरपालिका–६ बस्ने २७ वर्षीय सन्दिप थारू, २१ वर्षीय निरज थारू तथा एक १६ वर्षीय किशोरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार पीडितको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेका चारै जनामाथि जबरजस्ती करणीसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको छ।

परिवारका सदस्यहरूका अनुसार घटनापछि किशोरी लामो समयसम्म सामान्य अवस्थामा फर्कन सकेकी थिइनन्। उनी गहिरो मानसिक आघात, डर र त्रासका कारण कसैसँग खुल्न नसकेको बताइएको छ। मानसिक रूपमा विक्षिप्तजस्तै अवस्थामा पुगेकी उनी केही समयपछि बिस्तारै सुधार हुँदै गएपछि मात्र घटनाबारे परिवारलाई बताउन सक्षम भएकी थिइन्। त्यसपछि परिवारले प्रहरीमा उजुरी दिएको हो।

एसपी जिसीका अनुसार पीडितको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै आवश्यक उपचार र मनोसामाजिक परामर्शको व्यवस्था मिलाइनेछ। उनले घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीलाई कानुनअनुसार कडा कारबाही गरिने प्रतिबद्धता व्यक्त गरे। साथै, घटनासँग सम्बन्धित थप तथ्यहरू संकलन गर्ने काम भइरहेको पनि उनले बताए।

प्रकाशित: १९ चैत्र २०८२ ०९:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App