जिल्ला प्रहरी कार्यालय तनहुँले लागुऔषध नियन्त्रणका लागि सञ्चालन गरेको विशेष अभियानअन्तर्गत ‘स्विप अप्ररेसन’का क्रममा २७ जनालाई पक्राउ गरेको छ।
बिहीबारदेखि शुक्रबारसम्म सञ्चालन गरिएको उक्त अप्रेसनबाट लागुऔषध ओसारपसार तथा प्रयोगमा संलग्न २७ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक श्रवणकुमार विकले जानकारी दिए।
उनका अनुसार नियन्त्रणमा लिइएकामध्ये एक जनामाथि कानुन बमोजिम अनुसन्धान अगाडि बढाइएको छ भने एक जनालाई परिवारको समन्वयमा सुधार गृह पठाइएको छ।
अन्य व्यक्तिको हकमा ‘स्क्रिनिङ’ गरी विवरण अभिलेखीकरण गरिएको, आपराधिक पृष्ठभूमि जाँच गरी आवश्यक परामर्श दिई परिवारको जिम्मा लगाई हाजिरी जमानीमा छाडिएको प्रनाउ विकले बताए। लागुऔषध नियन्त्रणलाई प्राथमिकतामा राख्दै यस्तो विशेष अभियान सञ्चालन गरिएको उनको भनाइ छ।
उनले भने, ‘लागुऔषधको प्रयोग र ओसारपसार नियन्त्रणका लागि प्रहरीले निरन्तर रूपमा निगरानी तथा कारबाही अघि बढाइरहेको छ। समाजलाई सुरक्षित र स्वस्थ बनाउने उद्देश्यले यस्ता अभियान आगामी दिनमा पनि निरन्तर सञ्चालन गरिनेछन्।’
प्रकाशित: ११ वैशाख २०८३ १९:५० शुक्रबार





