अख्तियार प्रमुख प्रेम कुमार राईलगायत उच्च पदस्थ व्यक्तिहरूलाई धम्क्याएको प्रकरणमा प्रहरीले नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक प्रदीप अधिकारीसँग बयान लिएको छ।
भ्रष्टाचार मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका अधिकारीलाई जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसन्धान अधिकृतहरूले कारागार कार्यालय डिल्लीबजारबाट झिकाएर बयान लिएका हुन्।
प्रहरीका अनुसार बिहीबार र शुक्रबार अधिकारीसँग भीआईपीहरूलाई धम्क्याउन प्रकाश पाठक लाई ‘सुपारी’ दिएको विषयमा सोधपुछ गरिएको छ। पाठकलाई अन्तर्राष्ट्रिय प्रहरी संगठनको सहयोगमा पक्राउ गरी नेपाल ल्याइएको थियो।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाले अधिकारीसँग सोधपुछ सुरु गरिएको र अनुसन्धान अझै जारी रहेको जानकारी दिए।
अनुसन्धानमा संलग्न अधिकृतहरूका अनुसार सामाजिक सञ्जालमार्फत भीआईपीहरूलाई धम्क्याएका पाठकले प्रदीप अधिकारीसँग रकम लिएको स्वीकार गरेका छन्। भक्तपुरको नलिन्चोकमा हेलिप्याड निर्माणमा भएको भनिएको अनियमिततामाथि अख्तियारले अनुसन्धान अघि बढाएको थाहा पाएपछि अधिकारीले पाठकमार्फत अख्तियार प्रमुखलाई धम्क्याउन लगाएको आशंका गरिएको छ।
पाठकले बयानका क्रममा आफूले अधिकारीबाट २ करोड रुपैयाँ नगद लिएको स्वीकार गरेका छन्। तर, अधिकारीले भने आरोप अस्वीकार गरेका छन्। दुई दिनसम्मको सोधपुछमा उनले रकम दिएको कुरा नस्वीकार गरेको अनुसन्धानमा संलग्न एक अधिकृतले बताएका छन्।
उनले फेसबुकमार्फत अख्तियार प्रमुखसहित १० जना उच्च पदस्थ व्यक्तिलाई धम्की दिएका थिए।
प्रहरीले पाठकविरुद्ध आपराधिक लाभ, आपराधिक षड्यन्त्र तथा विद्युतीय कारोबार ऐनअन्तर्गतका कसुरमा म्याद थप गरेर अनुसन्धान गरिरहेको जनाएको छ।
प्रकाशित: ६ चैत्र २०८२ २१:०० शुक्रबार





