२९ जेष्ठ २०८३ शुक्रबार
image/svg+xml
अपराध

घुमुवामार्फत तस्करसँग लाईन रकम बुझ्छन् प्रहरी अधिकारी

गत शनिबार महोत्तरीको मनराशिसवा नगरपालिका–२ स्थित सीमा क्षेत्रबाट अवैध रूपमा भारततर्फ लैजाँदै गरिएको ठूलो परिमाणको चिनियाँ स्याउसहित तीन वटा पिकअप गाडी सशस्त्र प्रहरीले नियन्त्रणमा लियो ।

सशस्त्र प्रहरी बल नेपालका अनुसार शनिबार प्रदेश ०२–०२–००१ च ०७२२, प्रदेश १–०४–००१ च ०४१४ र मधेश प्रदेश ०४–००१ च ०३८० नम्बरका गाडीमा राखी तस्करीका लागि लैजाँदै गरिएको ६ हजार ९ केजी चिनियाँ स्याउ बरामद गरिएको सहप्रबक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

उनका अनुसार स्याउ ३ सय ४५ कार्टुनमा प्याक गरिएको अवस्थामा फेला परेको हो । सशस्त्र प्रहरी बल नेपाल नं. ९ महोत्तरी तथा मातहत युनिटको संयुक्त टोलीले विशेष सूचनाका आधारमा चेकजाँचका क्रममा उक्त परिमाणको स्याउसहित गाडी नियन्त्रणमा लिएको हो ।

बरामद गरिएका गाडी तथा स्याउ आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा बुझाइएको छ । तर त्यो स्याउलाई भन्सार कार्यालयले छाडिदिएको स्रोतको दावी छ ।

भारततिर तस्करीका लागि लैजाने नियन्त्रणमा लिइएको यो स्याउ प्रकरणले महोत्तरी जिल्लामा भैरहेको वारिपारि संगठित तस्करीको संजाल छताछुल्ल पारिदियो ।

सादा पोशाकमा खटाइएका ससस्त्र प्रहरी(घुमुवा)मार्फत लेनदेन मिलाएर वारिपारि तस्करी भैरहेको घटनामा यो प्रकरण जोडिएर आएको छ । महोत्तरीको सम्सी नाका तस्करीको मुख्य द्वार नै मानिन्छ । यो नाकाबाट स्याउ, मदिरालगायतका मालबस्तु भारततिर तस्करी हुने र भारतबाट  चप्पलजुत्ता, दैनिक उपभोग्यबस्तुलगायत नेपालतिर तस्करी हुने गरेको छ ।

यो नाकाक्षेत्रमा सशस्त्र प्रहरीका साहायक हबल्दार सन्तोष यादवले लेनदेन मिलाएर सामान वारपार गर्ने संगठित गिरोहलाई सहजीकरण गरिदिने गरेको थाहा पाएपछि सशस्त्र प्रहरी महोत्तरीले निगरानी बढाएको थियो । त्यहीबेला तस्करीको स्याउसहित तीन वटा पिकअप नियन्त्रणमा लिएको थियो । त्यसपछि मात्रै घुमुवा यादवको पोल खुलेको थियो ।

नागरिकसँग प्राप्त भएको प्रमाणमा शेख उजाले नामक व्यक्तिले सहायक हबल्दार यादवको राष्ट्रिय वाणिज्य बैंकको खाता नम्बर १२७०१०००००१०४ खातामा २०२४–२–२४ तारेख(१५:२५:२२ सेकेन्ड) मा ५० हजार रुपैयाँ पठाएको देखिन्छ । स्रोतका अनुसार शेख जुता चप्पल व्यवसायी हुन् । यादवको सम्बन्ध आईजीपी सचिवलयमा रहेका एक डिएसपीसँग रहेको बताइएको छ ।  

यादवले सचिवालयको धम्की दिदै नाकाबाट सहजीकरण गरेको खुलेपछि महोत्तरीमा रहेको गणले सर्च अप्रेशन थालेका बेला स्याउ बरामद भएको थियो । उनको बैक खातामा पटक पटक रकम गएको प्रमाण पनि नागरिकसँग सुरक्षित छ ।

भारतसँग सीमा जोडिएका सिरहाका नाकाहरुबाट नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको सेटिङमा तस्करीको लाइन महोत्तरीमा मात्र चलिरहेको छैन ।

जेनजी आन्दोलनपछि नयाँ सरकार बनिसकेपछि भन्सार नाकामा कडाइ गरिएको भनिएपनि मधेसमा तस्करीको लाइन रोकिएको छैन । आम जनताको हकमा भन्सार नाकामा सास्ती छ भने तस्करलाई रजाइँ छ । सीमामा हुने तस्करीलगायतका अवैध गतिविधि नियन्त्रणमा खटिएका सशस्त्र प्रहरीका केही घुमुवाको कारण बद्नाम हुँदैछ ।

यसमा मधेसमा नेपाल प्रहरीको भूमिका पनि तस्करी नियन्त्रण भन्दा तस्करलाई सहजीकरण गर्नमै देखिएको छ । दुबै प्रहरी घुमुवा परिचालन गरि तस्करलाई सामान गोदामसम्म पुर्‍याउन सहजीकरण गरिरहेको पाईएको छ ।

यसअघि मधेस प्रदेशका नेपाल प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले घुमुवामार्फत तस्कर र व्यापारीसँग रकम असुली गरेको आरोप लागेपछि प्रहरी मुख्यालयले जाँचबुझका लागि छानबिन समिति नै गठन गरिसकेको छ । समितिको छानविन अन्तिम चरणमा पुगेको प्रहरी प्रधान कार्यालयका प्रवक्ता डिआइजी अभिनारायाण काफ्लेले जानकारी दिए ।  

प्रहरी अतिरिक्त महानिरिक्षक उमाप्रसाद चतुर्वेदीको संयोजकत्वमा गठित छानविन समितिले छानविन गरि प्रतिवेदन प्रहरी प्रमुख प्रहरी महानिरिक्षकलाई बुझाउने र त्यसैअनुसारको कारवाही प्रक्रिया अघि बढ्ने प्रवक्ता काफ्लेले नागरिकसँग भने ।

यस प्रकरणमा जोडिएका धनुषा प्रहरीका वरिष्ठ सई सागर शमशेर जबरा र सईद्वय गोपाल थापा मगर र जयलाल यादवलाई प्रहरी प्रधान कार्यालयले तानिसकेका छन् ।

यता, डीआईजीको यातनाको कारण देखाउँदै आत्महत्याको प्रयास गरेका प्रहरी जवान रोशन यादवलाई पनि फिर्ता बोलाइएको छ । पटक–पटक स्पष्टीकरणको मार खेपेका धनुषाका एसपी रुगमबहादुर कुँवर पनि डिआइजीसँग आजित छन् । उनी अस्वस्थ्य भएर उपचारका लागि काठमाडौंसम्मै जानुपर्यो ।

मधेस प्रदेशका प्रहरी कार्यालयहरु सूचना संकलनको नाममा घुमुवा परिचालन गरी सीमा नाकाबाट तस्करीको सेटिङ मिलाउने गरेको पछिल्लो घटनाले छताछुल्ल पारिदिएको छ । प्रहरी अधिकारीहरुका लागि घुमुवाहरु तस्करसँग रकम लिने र तस्करीलाई सहज बनाइदिने गरेको पाइएको छ । मधेस प्रदेशमा परिचालित अधिकांश घुमुवाहरु सूचना संकल भन्दा पनि तस्करसँग प्रहरी अधिकारीहरुका लागि रकम थाप्ने गरेको घटनाक्रमले देखाएको छ ।

डिआइजी थपलियाका घुमुवाको रुपमा खटिएकाहरुको आदेशमा मधेस प्रदेशका जिल्लाका सीमानाकाबाट पछिल्लो समय तस्करी व्यापक बनेको छ । जिल्ला र इलाका प्रहरी कार्यालय, सशस्त्रको गण र बोर्डर आउटपोष्टबाट खटिएका घुमुवाहरुले सीमा वारिवारि तस्करी गर्नेहरुसँग लाइन मिलाउने काम गरिदिने गरेको सीमा क्षेत्रका बासिन्द बताउँछन् । पछिल्लो समय सिरहाको माडर, ठाढी, बरियारपट्टी, झाझपट्टी, औरही, नरगी, चतरी नाका पछिल्लो समय तस्करका लागि भूस्वर्ग बनेको छ । माडर नाका अन्तर्गतको बुधौरा, बसपिटा, लगडिगोठ, लक्षमिनीया र ठाढी नाका अन्तर्गत झाझपट्टी, ठाढी, अभयनगर पछिल्लो समय ठूलो परिमाणमा तस्करी हुने गरेको छ ।

तस्करीका मालसामान लहान, गोलबजार र मिर्चैयामा भण्डारण गरी बिल काटेर पहाडी जिल्लाहरूमा पठाउने गरिएको छ । सीमादेखि गोदामसम्म तस्करीका सामान सुरक्षित पुर्‍याउन घुमुवाले सघाउँछन् । मोटरसाइकल, टेम्पो, ट्याक्टर र मिनि ट्रक, पिकअप तस्करीका सामान भित्र्यायाउन प्रयोग गरिन्छ ।

धनुषाका जटही, इनर्वा, औरही नाकाबाट पनि तस्करी हुने गरेको छ । नाका खुलाउन गएको आदेशलाई धुनषाका एसपीले नमानेपछि डिआइजी थपलिया र एसपीको बीच भनाभन भएको थियो । पर्साका एसपीले प्रमाण पुगेपछि कारवाही गर्नु नत्र हस्तक्षेप गर्न नआउनु भनेपछि घुमुवाले त्यहाँ टेक्न सकेका छैनन् ।

बारा, सर्लाही, रौतहट र महोत्तरीमा डिआइजीको घुमुवाको नाममा आतंक नै थियो स्रोतले बतायो । अहिले ती घुमुवाहरु तानिएपनि तस्करी रोकिएको छैन् । डीआईजीका घुमुवा जयलाल यादवले धनुषा र सिरहा दुबैतिर सेटिङ मिलाउने काम गर्दैआएका छन् । डीआईजी र जिल्लाका एसपीको नाममा समेत तस्करहरुबाट मासिक असुली गर्ने गरेको आरोप उनीमाथि छ । घुमुवा सई जयलालले धनुषामा मात्र होइन, सिरहाका प्रत्येक नाकाबाट डीआईजीको नाममा तस्करीको लाइन चलाएर लाभ लिइरहेको आरोप छ ।

बरियारपट्टि नाकाबाट नेपाल प्रहरी र सशस्त्र प्रहरी दुबै सेटिङ गरी तस्करी हुने गरेको छ । मासिक दररेट बुझाएर यस नाकाबाट तस्करले तस्करी गर्दैआएका छन् । उनीहरुले नेपालबाट चिनियाँ स्याउ, मदिरा भारततर्फ तस्करी गर्दै आएका छन् भने भारतबाट हुँकामा प्रयोग हुने झोल(फलेबर), किराना, हार्डवेयर, कपडा ल्याउने गरेका छन् ।

प्रकाशित: २६ वैशाख २०८३ १६:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App