४ श्रावण २०८३ सोमबार
image/svg+xml
अपराध

नेपालमा सक्रिय सुन चोरी गर्ने पाकिस्तानी गिरोह : दुई महिलासहित चार जना पक्राउ

नेपालका विभिन्न जिल्लामा सुन चोरीमा संलग्न रहेको आरोपमा चार जना पाकिस्तानी पक्राउ परेका छन्। दुई महिला र दुई पुरुष पक्राउ परेका हुन्। 

गत वैशाख १ गते कपिलवस्तुको चन्द्रौटामा दुई महिला र गत वैशाख ५ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई पुरुषलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहले बताए। 

गत वैशाख १ गते चन्द्रौटामा पक्राउ परेका महिलासँग सोधपुछपछि सुन चोरी गर्ने गिरोहमध्ये थप दुई जना पाकिस्तानी पक्राउ परेका हुन्। गत चैत १ गते कपिलवस्तुको शिवरानगरपालिकाको चन्द्रौटास्थित सुरेन्द्र सुनचाँदी पसलमा सुन चोरको आरोपमा दुई पाकिस्तानी महिला पक्राउ परेपछि प्रहरीले अनुसन्धानका क्रममा सोही गिरोहका थप दुई पाकिस्तानी पक्राउ परेका हुन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २३ वर्षीय इरफान अली र ४४ वर्षीय सैफर रहमान पक्राउ परेको प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहले जानकारी दिएका छन्। पक्राउ परेका दुवै जनाबाट १७ हजार १ सय ३६ अमेरिकी डलर, साउदी रियाल ३ सय २५, बंगलादेश टाका १ हजार ६१५, युएई दिराम ५, मलेसिया रिंगेट १ सय ८५ बरामद भएको छ। यस्तै इन्फिनिक्स र आइफोन १६ मोबाइल सेट एक-एक थान समेत बरामद भएको छ।

चन्द्रौटामा २० वर्षीया बिबि कसलुम र ४१ वर्षीया सबाना सुन किन्ने बहानामा विभिन्न गहना हेर्ने गएर सुन चोरी गर्ने गरेको सिसिटिभीको फुटेजमा देखिएको थियो। चोरीपछि पसलबाट बाहिर निस्किँदा उनीहरूले मास्कमाथि बुर्का लगाएर आफ्नो पहिचान लुकाउने गर्थे। 

ती महिलाहरू सो पसलबाट सुनको झुम्का चोरेर भागेका थिए। पसल संचालकले गहना हराएको थाहा पाएपछि तत्काल बजार क्षेत्रमा खोजी गरे। केही पर पुगेपछि ती महिलाहरू फेला परेका थिए। अनि प्रहरीलाई खबर गरिएको थियो। त्यसपछि उनीहरूलाई वडा प्रहरी कार्यालयले नियन्त्रणमा लियो।

प्रहरीले ती महिलाबाट ३८ लालको सुनको झुम्का, नेपाली नोट ८६ हजार ४०, पाकिस्तानी रकम ३०, पाकिस्तानी पासपोर्ट दुई थान बरामद गरेको थियो। ती महिलाहरूले तौलिहवाको चोक बजारस्थित बागेश्वरी ज्वेलर्स र सच्चिदानन्द ज्वेलर्सबाट समेत सुन चोरेका थिए। 

गत चैत २८ गते बागेश्वरी ज्वेलर्सबाट एक तोलाको सुनको गहना र चैत ३० गते सच्चिदानन्द ज्वेलर्सबाट ३ लाख ८३ हजारको सुनको सिक्री चोरेर ती महिलाहरू भागेका थिए। 

सो गिरोहले इटहरीमा दुई तोला सुन, मोरङमा एक तोला र बुटवलमा ३ तोला सुन चोरेको भन्दै सम्बन्धित प्रहरी कार्यालयमा समेत उजुरी परेको छ। पक्राउ परेका चारै जनालाई अदालतबाट म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरी नायब उपरीक्षक सिंहले बताए।

प्रहरीले जारी गरेका विज्ञप्ति हेर्नुस्

प्रकाशित: ८ वैशाख २०८३ ०८:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App