सर्लाहीमा स्रोत नखुलेको ५१ लाख ३४ हजार रुपैयाँ सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
ब्रह्मपुरी गाउँपालिका वडा नम्बर २ राजदेवी मन्दिर नजिक भेलहीबाट वयलबासतर्फ जाँदै गरेको ज.१० प ८६५२ नम्बरको स्कुटर चेकजाँच गर्ने क्रममा रकम बरामद भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
स्कुटरको डिकी तथा कालो झोलाभित्र लुकाइराखेको अवस्थामा विभिन्न दरका नेपाली नोट प्रहरीले बरामद गरेको छ।
पक्राउ पर्नेमा महोत्तरीको गौशाला नगरपालिका वडा नम्बर १२ का ५७ वर्षीय जगन्नाथ महतो कोईरी रहेका छन्।
गोप्य सूचनाको आधारमा स्रोत नखुलेको रकम लिएर आउँदै गर्दा महतोलाई नियन्त्रणमा लिने क्रममा स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा उनी घाइते भएका थिए। उनको मलंगवास्थित अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
बरामद रकम सहित पक्राउ परेका महतोलाई नियन्त्रणमा लिएर रकमको स्रोत तथा घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख एसपी रवीन्द्र नाथ पौडेलले बताए।
प्रकाशित: २७ श्रावण २०८३ १७:३२ बुधबार





