१४ श्रावण २०८३ बिहीबार
image/svg+xml
अपराध

जुत्ताभित्र लुकाएर राखिएको ब्राउन सुगरसहित एक जना पक्राउ

प्रहरीले विराटनगर विमानस्थलबाट जुत्ताभित्र लुकाएर काठमाडौं पठाउन लागिएको लागुऔषध ब्राउन सुगर बरामद गरेको छ।  

विमानमार्फत जुत्ताको सोलभित्र लुकाएर लागुऔषध ब्राउन सुगर काठमाडौं पठाउने क्रममा विराटनगर विमानस्थलबाट प्रहरीले बरामद गरेको हो।

सामान पठाउन लाग्दा विमानस्थलमा गरिएको सुरक्षा जाँचका क्रममा लागुऔषधसहित एक युवकलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए।

उनका अनुसार विराटनगर–९ महेन्द्र चोकस्थित एक्सपो एक्सप्रेस कुरियरमार्फत बुधबार साँझ ७ बजेतिर काठमाडौंको तारकेश्वर नगरपालिका मनमैजुका अशोक विश्वकर्माका नाममा सेतो रङको खेलकुद जुत्ता (स्पोट्र्स सुज) पठाउन खोजिएको थियो।

उक्त पार्सल विमानस्थलको एक्स–रे मेसिनबाट जाँच गर्ने क्रममा जुत्ताभित्र शंकास्पद वस्तु देखिएपछि विमानस्थलको प्रहरी टोलीले पार्सल खोलेर हेर्दा जुत्ताको सोलभित्र कालो प्लास्टिकमा पोको पारेर लुकाइएको अवस्था ब्राउन सुगर फेला परेको डिएसपी मिश्रले बताए।

जुत्ताभित्र लुकाइएको १८.४८ ग्राम ब्राउन सुगर बरामद भएको बताउँदै डिएसपी मिश्रले भने, ‘कुरियरमार्फत विराटनगर विमानस्थल हुँदै जहाजमार्फत ब्राउन सुगर काठमाडौं पठाउन खोज्ने विराटनगर–५ का २४ वर्षीय सुशान्त खड्कालाई पक्राउ गरिएको छ।’

प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा उक्त पार्सल विराटनगरका राघव झाले काठमाडौं पठाउनलाई खड्काको जिम्मा लगाएको खुलेको छ।

पक्राउ परेका खड्का तथा बरामद लागुऔषधलाई आवश्यक अनुसन्धान एवं कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको छ। सामान पठाउने पार्सल धनि झाको खोजी भइरहेको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: १४ श्रावण २०८३ १८:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App