४ श्रावण २०८३ सोमबार
image/svg+xml
अपराध

दमकमा खैरो हेरोइनसहित एक पक्राउ

दमक नगरपालिका–१ हवल्दार चोकस्थित टपरी होटलबाट खैरो हेरोइनसहित एक जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार इलामको चुलाचुली गाउँपालिका–४ पूर्णकुमार राईलाई होटलभित्र लागुऔषध खैरो हेरोइनको कारोबार गरिरहेको भन्ने विशेष सूचनाका आधारमा पक्राउ गरिएको हो।

लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय दमकबाट खटिएको संयुक्त प्रहरी टोलीले होटलमा पुगेर खाजा खाइरहेका राईको खानतलासी लिँदा हेरोइन जस्तो देखिने पदार्थ फेला पारेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रञ्जन अवाले जानकारी दिए।

उनका अनुसार बरामद गरिएको पदार्थको तौल प्लास्टिकबाहेक २२ ग्राम १५० मिलिग्राम रहेको छ। प्रहरीले उक्त परिणामको लागुऔषधसहित मे १० प ३९७० नम्बरको मोटरसाइकल तथा अन्य सामग्रीसमेत नियन्त्रणमा लिइएको छ।

पक्राउ परेका राईमाथि लागुऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: ४ श्रावण २०८३ १५:४६ सोमबार