कपिलवस्तुमा भारतबाट अवैध रूपमा भित्राइएका ४ हजार २ सय ब्रोइलरका चल्ला सहित एक जना पक्राउ परेका छन्।
भारतबाट ७ वटा साइकलमा राखेर ल्याइरहेको अवस्थामा प्रहरीले कपिलवस्तुको मायादेवी गाउँपालिका वडा नम्बर ८ घोलाहाबाट सो चल्ला बरामद गरेको हो। अन्य ६ जना साइकल चालक भने फरार रहेका छन्।
मायादेवी गाउँपालिका वडा नम्बर १ पकडीका साइकल चालक शिवनाथ धोबीलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक रिपेन्द्र कुमार सिंहले बताए।
बरामद चल्लाको मूल्य ४ लाख बढी रहेको प्रहरीले जनाएको छ। बरामद गरिएको चल्लालाई जेसिबीले खाल्टो खनेर नष्ट गरिएको उनले बताए।
पक्राउ परेको धोबीलाई आवश्यक कारबाही कालागि पशु क्वारेनटाइन चेक पोस्ट कृष्णनगर पठाइएको सिंहले बताए। नेपालमा भन्दा भारतमा कुखुराको चल्ला र मासु सस्तो हुने भएकाले तस्करहरूले भरियाका रूपमा मानिसलाई प्रयोग गरी भित्राउने गरेको नेपाली मासु व्यापारीहरू बताउँछन्।
प्रकाशित: १९ जेष्ठ २०८३ १८:४६ मंगलबार





