२९ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
अपराध

बैंक कर्मचारीमाथि दुर्व्यवहार: उपमेयरका श्रीमानसहित दुई पक्राउ, उपमेयरसहित पाँच फरार

सप्तरीको सप्तकोशी नगरपालिका–७ ओदाहामा ज्योति विकास बैंकका कर्मचारीलाई बन्धक बनाएर कुटपिट तथा दुर्व्यवहार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सप्तकोशी नगरपालिकाकी उपमेयर रिताकुमारी चौधरीका श्रीमानसहित एक अर्का व्यक्ति रहेका छन्।

मंगलबार सप्तरी प्रहरीको टोलीले ‘सप्तकोशी इन्टिग्रेटेड एग्रो फार्म प्रालि’ का सेयरधनी ५२ वर्षीय सञ्जिवकुमार चौधरी र अग्निसाइर कृष्णसवरण गाउँपालिका–१ का ४७ वर्षीय उमाकान्त चौधरीलाई नियन्त्रणमा लिएको हो। सञ्जिव उपमेयर चौधरीका श्रीमान् हुन्।

जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी डिएसपी डम्बर पुरीका अनुसार पक्राउ परेकाहरूविरुद्ध अपमानजनक व्यवहार गर्न नहुने, शरीर बन्धक र ज्यान मार्ने उद्योग कसुरमा अनुसन्धान अगाडि बढाइएको छ।

जिल्ला अदालत सप्तरीबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको उनले जानकारी दिए।

घटनामा संलग्न रहेको आरोप लागेका उपमेयर रिताकुमारी चौधरी, उनका छोरा सिरज तथा फार्मका अन्य सेयरधनीहरू प्रभुनारायण चौधरी, पञ्चदेव चौधरी र रवीन्द्र स्वर्णकार फरार रहेको प्रहरीले जनाएको छ। डिएसपी पुरीले फरार आरोपीहरूको खोजी कार्य तीव्र पारिएको बताएका छन्।

के थियो घटना ?

गत बुधबार ऋणीसँग संवाद गर्न बैंकको प्रादेशिक कार्यालयका उपप्रबन्धक एवं कर्जा असुली प्रमुख सुमित श्रेष्ठ र रुपनी शाखाका कर्जा असुली अधिकृत सविन श्रेष्ठ एग्रो फार्म पुगेका थिए।

सो क्रममा उनीहरूलाई बन्धक बनाउँदै मोसो दलेर जुत्ताको माला लगाइदिई कुटपिट गरिएको थियो। उक्त घटनाको भिडियो आइतबार सामाजिक सञ्जालमा भाइरल भएपछि चौतर्फी आलोचना भएको थियो।

सप्तकोशी इन्टिग्रेटेड एग्रो फार्म प्रालिले २०७८ वैशाख २३ गते बैंकबाट ४ करोड ५० लाख रुपैयाँ ऋण लिएको थियो। २०८१ चैत २८ पछि किस्ता नतिरेपछि बैंकले धितो लिलामीका लागि मंसिर १९ गते ७ दिने सूचना जारी गरेको थियो।

सूचनाको म्याद नसकिँदै बैंकले टिकटकमा जग्गा बिक्रीको विज्ञापन गरेर फार्म र सेयरधनीको बदनामी गरेको भन्दै सञ्चालक पक्ष आक्रोशित बनेको बताइएको छ।

प्रकाशित: १ पुस २०८२ २१:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App