२४ जेष्ठ २०८३ आइतबार
image/svg+xml
अपराध

कास्की प्रहरीको ‘स्विप अप्रेसन’ : ४० जना कारबाहीमा

समाजमा अवैध गतिविधि, गुण्डागर्दी र शान्तिसुरक्षामा खलल पुर्याउने कार्यविरुद्ध जिल्ला प्रहरी कार्यालयले सञ्चालन गरेको ‘स्विप अप्रेसन’अन्तर्गत शनिबार जिल्लाका विभिन्न स्थानबाट ४० जनालाई नियन्त्रणमा लिई कारबाही गरिएको छ।

वडा प्रहरी कार्यालय बैदामबाट खटिएको टोलीले पोखरा महानगरपालिका–१७ दोबिल्लामा जाँच गर्दा मादक पदार्थ सेवन (मापसे) गरी सवारीसाधन चलाउने दुई जना र ट्राफिक नियम उल्लङ्घन गर्ने आठ जनालाई कारबाही गरिएको हो।

पोखरा–२३ र २४ को घाँटीछिना क्षेत्रमा मापसे गरी सवारीसधान चलाएका नौ जना र ट्राफिक नियम उल्लङ्घन गर्ने दुई जनालाई कारबाही गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिए।

यस्तै, वडा प्रहरी कार्यालय बगरबाट खटिएको टोलीले पोखरा–१६ अकलामा लागुऔषध सेवन गरी सवारीसाधन चलाउने एक जना, मापसे गरी सवारीसाधन चलाएका तीन जना र ट्राफिक नियम उल्लङ्घन गर्ने चार जनालाई कारबाही गरिएको हो।

माछापुछ्रे गाउँपालिका–८ भेडाभारीमा मापसे गरी सवारीसाधन चलाएका चार जना, स्वरूप परिवर्तन गरी सवारीसाधन चलाउने एक जना र ट्राफिक नियम उल्लङ्घन गर्ने छ जनालाई नियन्त्रणमा लिई कारबाही गरिएको प्रहरी नायब उपरीक्षक पासवानले बताए।

गण्डकी प्रदेश प्रहरी कार्यालयको केनाइन शाखाबाट परिचालित कुकुरसहितको टोलीले सवारीसाधनको जाँच गरेको थियो। प्रहरीले रातको समयमा होहल्ला गर्ने, सार्वजनिक शान्ति सुरक्षामा खलल पुर्याउने, गाँजालगायत अवैध लागुऔषध सेवन र जुवा खेलाउने जस्ता अवैध गतिविधिमा संलग्नलाई नियन्त्रणमा लिन ‘स्विप अप्रेसन’ सञ्चालन गर्दै आएको छ।  

मदिरा र गाँजाजन्य पदार्थ सेवन गरेकालाई सम्झाइबुझाइ अभिभावकलाई जिम्मा लगाउने गरिएको प्रहरीले जनाएको छ। आपराधिक पृष्ठभूमि भएका, पटके रूपमा यस्ता क्रियायाकलापमा संलग्न र जाँचका क्रममा प्रहरीलाई उल्टै दुर्व्यवहार गर्ने व्यक्तिलाई अदालतमा मुद्दा दर्ता गरी कानुनी कारबाही प्रकृया अगाडि बढाउने गरिएको छ।

प्रकाशित: २४ जेष्ठ २०८३ १२:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App