त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो परिमाणको अवैध लागूऔषध गाँजासहित एक भारतीय नागरिक पक्राउ परेका छन्।
थाई एयरलाइन्समार्फत बैङ्ककबाट काठमाडौं आएका ३२ वर्षीय धर्मेश रसिकभाइ चौनारालाई करिब १४ किलो २१० ग्राम गाँजासहित सोमबार दिउँसो पक्राउ गरिएको हो।
विमानस्थल सुरक्षा कार्यालयका अनुसार, आगमनतर्फको भन्सार जाँचका क्रममा चौनाराको गतिविधि शंकास्पद देखिएपछि उनको सुटकेशमाथि विशेष निगरानी राखी जाँच गरिएको थियो।
जाँचका क्रममा सुटकेशभित्र चलाखीपूर्वक लुकाइराखेको अवस्थामा उक्त परिमाणको गाँजा फेला परेको थियो।
पक्राउ परेका चौनारालाई बरामद गरिएको गाँजासहित थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरमा बुझाइएको छ।
ब्यूरोले अब उनको अन्तर्राष्ट्रिय संलग्नता, लागूऔषधको स्रोत र नेपालमा यसको सम्भावित गन्तव्यबारे विस्तृत अनुसन्धान थाल्ने जनाएको छ।
पछिल्लो समय अन्तर्राष्ट्रिय लागूऔषध तस्करहरूले नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई ‘ट्रान्जिट’ का रूपमा प्रयोग गर्ने प्रयास गरिरहेका छन्।
प्रकाशित: ५ श्रावण २०८२ १८:३२ सोमबार





