गुल्मीको छत्रकोट गाउँपालिकामा परम्परागत आरनको आवरणमा अवैध घरेलु हतियार निर्माण तथा बिक्री-वितरण गरिरहेको फेला परेको छ।
जिल्ला प्रहरी कार्यालय गुल्मीबाट खटिएको विशेष प्रहरी टोलीले छत्रकोट-५ मानकोट भ्यूडाँडाबाट हतियार, ठूलो परिमाणका पाटपुर्जा, औजार र वन्यजन्तुका छालासहित तीन जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेहरूमा स्थानीय बुद्धिबहादुर कामी, उनका छिमेकी झुमिला विक र बन्दुक खरिदकर्ता प्रेमबहादुर सिँजाली रहेका छन्।
प्रहरी निरीक्षक सुदीप नेपालीको नेतृत्वमा खटिएको टोलीले कामीको घर तथा आरनमा छापा मार्दा हतियार बनाउन प्रयोग गरिने कच्चा पदार्थ, मेसिन र औजारहरू बरामद गरेको थियो।
अनुसन्धानकै क्रममा विकको आरनबाट एक थान तथा सिँजालीको घरगोठबाट खरिद गरिएको अर्को एक थान भरुवा बन्दुकसमेत बरामद गरिएको छ।
प्रहरीले उनीहरूको साथबाट दुई थान तयारी भरुवा बन्दुक, फलामका बन्दुकका नाल ४२ थान, बन्दुकका कुन्जी तथा बट आठ थान, काठका बट पाँच थान, फलामका गोली छर्रा २२१ थान, भरुवा बन्दुकका गोली तीन थान, बारुद र टिनका बाकसभित्र लुकाइएका विभिन्न पाटपुर्जा नियन्त्रणमा लिएको छ।
यसैगरी, हतियार निर्माणमा प्रयोग हुने किटको आरनपङ्खा दुई थान, ड्रिल मेसिन, वेल्डिङ मेसिन, दुई थान भाइब्रेसन मेसिन, गेलेन्डर मेसिनसहित आरी, बसुला, पन्चकस, कैँची र हथौडालगायतका निर्माण सामग्री पनि फेला परेका छन्।
हतियारसँगै जङ्गली जनावरका हड्डी तथा पाँच वटा छालासमेत बरामद गरिएकाले उनीहरू वन्यजन्तुको अवैध चोरीसिकारीमा समेत संलग्न रहेको आशंका गरिएको छ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवं प्रहरी नायब निरीक्षक वीरेन्द्रवीर विश्वकर्माले हतियार निर्माण, खरिद-बिक्री तथा वन्यजन्तु अपराधको कसुरमा तीनै जनामाथि कानुनी प्रक्रिया अघि बढाएर थप अनुसन्धान थालिएको जानकारी दिए।
प्रकाशित: २४ भाद्र २०८३ २१:३१ बुधबार





