गृहमन्त्री सुधन गुरुङले लागुऔषध नियन्त्र गर्न ‘थ्री पिलर स्ट्राटेजी’ लागू गर्ने प्रतिवद्धता जनाएका छन् ।
‘थ्री पिलर स्ट्राटेजी’ अन्तर्गत रोकथाम, उपचार र कारबाहीलाई प्राथमिकता दिइएको मन्त्री गुरुङले बताए। चालु वर्षको ७९ लाख रुपैयाँ बजेट बढाएर आगामी वर्ष २ करोड २७ लाख रुपैयाँ विनियोजन गरिएको जानकारी उनले दिए ।
बिहीबार प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै मन्त्री गुरुङले प्रहरी चेकजाँचका क्रममा हुने भ्रष्टाचार नियन्त्रणमा सरकार शून्य सहनशीलताको नीतिमा रहेको बताए ।
कार्यसम्पादन मूल्याङ्कनका आधारमा पुरस्कार तथा दण्डको व्यवस्था कडाइका साथ लागू गरिने मन्त्री गुरुङले बताए । सीमा क्षेत्रमा एआई प्रविधियुक्त सीसीटीभी क्यामेरा जडान गरी निगरानी प्रणाली सुदृढ बनाइने पनि उनले जानकारी दिए ।
कारागार व्यवस्थापनतर्फ हाल १९ हजार क्षमताका कारागारमा करिब २६ हजार ८ सय कैदीबन्दी रहेको उल्लेख गर्दै उनले प्रत्येक प्रदेशमा सात हजार क्षमताको एक–एकवटा ठूला कारागार निर्माण गर्ने योजना रहेको बताए। हाल ११ वटा कारागार भवन निर्माणाधीन रहेको र थप २० वटा कारागार भवनका लागि बजेट विनियोजन गरिएको उनले जानकारी दिए ।
प्रकाशित: ४ असार २०८३ १८:५१ बिहीबार

