ज्यान मार्ने उद्योग मुद्दामा अदालतबाट दोषी ठहर भई पाँच वर्ष कैद सजाय सुनाइएका एक फरार अभियुक्तलाई उदयपुर प्रहरीले पक्राउ गरेको छ।
चौदण्डीगढी नगरपालिकाका ४४ वर्षीय प्रेम मगरलाई बुधबार राति इलाका प्रहरी कार्यालय बेलटारको टोलीले नियन्त्रणमा लिएको हो।
जिल्ला अदालत उदयपुरले मगरलाई ज्यान मार्ने उद्योगमा पाँच वर्ष कैदको फैसला सुनाए पनि उनी लामो समयदेखि फरार रहँदै आएका थिए। फरार सूचीमा रहेका प्रतिवादीहरूको खोजी गरी कैद सजाय तथा बिगो भुक्तान गराउने अभियानअन्तर्गत खोजी गर्ने क्रममा उनलाई घरपायक क्षेत्रमै लुकिछिपी बसिरहेको अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) चिरञ्जिवी थापाका अनुसार पक्राउ परेका मगरलाई फैसला कार्यान्वयनका लागि बिहीबार जिल्ला अदालतमा पेस गरिएको थियो।
अदालतको आदेशपछि उनलाई सोही दिन दिउँसो कैद भुक्तानका लागि कारागार चलान गरिएको छ।
प्रकाशित: २४ वैशाख २०८३ १६:४१ बिहीबार





