९ भाद्र २०८३ मंगलबार
image/svg+xml
अपराध

युरोप पठाइदिन्छु भन्दै २२ लाख ठगी, ५ जना पक्राउ

आकर्षक तलबको प्रलोभन देखाएर विभिन्न युरोपेली मुलुकहरूमा वैदेशिक रोजगारीमा पठाइदिने नाममा २२ लाख रुपैयाँभन्दा बढी रकम ठगी गरेको अभियोगमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको विशेष टोलीले पीडितहरूको उजुरीका आधारमा उनीहरूलाई उपत्यकाका छुट्टाछुट्टै स्थानबाट नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेहरूमध्ये झापा घर भई काठमाडौं महानगरपालिका-३ बस्ने २७ वर्षीय साजन खनालले फिनल्याण्ड पठाइदिने भन्दै एक पीडितबाट सबैभन्दा बढी १२ लाख रुपैयाँ ठगी गरेका थिए।

त्यस्तै, झापाकै ठेगाना भई बुढानिलकण्ठ नगरपालिका-१० बस्ने २९ वर्षीया सुष्मा भण्डारीले चेक रिपब्लिक पठाइदिने प्रलोभनमा ५ लाख ३५ हजार रुपैयाँ असुलेर सम्पर्कविहीन भएको पाइएको छ।

यसैगरी, सिन्धुली घर भई काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-९ बस्ने २८ वर्षीया करिना देवकोटाले लिथुआनिया पठाइदिने भन्दै २ लाख ५० हजार र ओखलढुंगा घर भई काठमाडौं–१५ बस्ने २७ वर्षीया तोम कुमारी थापाले माल्टा पठाइदिन्छु भन्दै १ लाख ३५ हजार रुपैयाँ ठगी गरेका छन्।

दोलखा घर भई भक्तपुरको सूर्यविनायक नगरपालिका-१ बस्ने ३४ वर्षीय पेमा लामाले भने रोमानिया पठाइदिने भन्दै १ लाख रुपैयाँ लिएर पीडितलाई अलपत्र पारेका थिए।

प्रहरी टोलीले सुष्मालाई बुढानिलकण्ठ-१० बाट शुक्रबार, करिना र साजनलाई काठमाडौं-३ बाट आइतबार तथा पेमालाई काठमाडौं-१२ र तोमकुमारीलाई काठमाडौं–१५ बाट सोमबार पक्राउ गरेको जनाएको छ।

पक्राउ परेका पाँचै जनालाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल काठमाडौं पठाइएको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित: ९ भाद्र २०८३ १५:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App