रौतहटमा विद्युत प्राधिकरणका एक कर्मचारी लुटिएका छ। जिल्लाको अत्यन्त व्यस्त मानिने गौर-पिपरा सडकखण्ड अन्तर्गत दुर्गा भगवती गाउँपालिका-४ स्थित झाँझ पुल नजिक आइतबार राति विद्युत प्राधिकरणका एक कर्मचारीमाथि लुटपाट भएको छ।
गंगा पिपरा फ्युज सेन्टरमा दैनिक ज्यालादारीमा कार्यरत कर्मचारी राजदेवी नगरपालिका वडा नम्बर १ घर भएका पंकज कुमार यादवमाथि लुटपाट भएको हो।
कार्यालयको ड्युटी सकेर मोटरसाइकलमा घर फर्किँदै गरेको अवस्थामा झाँझ पुल नजिक हातहतियारसहित बसेका अपरिचित समूहले यादवलाई घेरा हाली उनी चढेका ना २९ प २९३२ नम्बरको निलो रङको ग्ल्यामर मोटरसाइकल लुटपाट गरेको छ।
इलाका प्रहरी कार्यालय गंगापिपराले घटनाबारे जानकारी पाएलगत्तै प्रहरी नायब निरीक्षक (सई) जयप्रकाश पाण्डेको नेतृत्वमा प्रहरी टोली पुगेपछि लुटपाट गर्ने अपरिचित समूह फरार भएको र तिनीहरूको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ।
केही समयअघिदेखि प्रहरीले रात्रि गस्ती गर्न छोडेपछि सामाजिक अपराध बढ्न थालेको पाइएको छ। विद्युत कर्मचारीमाथि भएको लुटपाट घटनापछि स्थानीय बासिन्दाले गौर-पिपरा-समनपुर सडकखण्डमा रातिको समयमा सुरक्षा व्यवस्था अत्यन्त कमजोर रहेको भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन्।
स्थानीयका अनुसार दिनभर सवारीसाधनको चाप रहने यस सडकखण्डमा रातिको समयमा प्रहरीको उपस्थिति लगभग शून्यजस्तै रहने गरेको छ, जसका कारण आपराधिक गतिविधिले प्रश्रय पाउने अवस्था सिर्जना भएको पचरुखीका बसन्त मिश्रले आरोप लगाए।
स्थानीयवासीले झाँझ पुल क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको स्थायी सुरक्षा निगरानी आवश्यक रहेको बताउँदै पटक-पटक सम्बन्धित निकायसँग प्रहरी बिट स्थापना गरी २४सै घण्टा सुरक्षा व्यवस्था मिलाउन माग गरे पनि सुनुवाइ नभएको मिश्रको गुनासो छ।
घटनापछि स्थानीयले रातिको गस्ती बढाउन, झाँझ पुल क्षेत्रमा स्थायी सुरक्षा पोस्ट स्थापना गर्न तथा अपराध नियन्त्रणमा प्रभावकारी कदम चाल्न सम्बन्धित निकायसँग माग गरेका छन्।
प्रकाशित: १८ जेष्ठ २०८३ ०८:५० सोमबार

