१५ वर्ष कैद भुक्तानका लागि कारागार चलान भएका एक कैदीलाई कपिलवस्तु प्रहरीले पक्राउ गरेको छ।
बिजयनगर गाउँपालिका–४ का ३३ वर्षीय बल्लल भन्ने बबुर्दी यादव लागूऔषधसम्बन्धी दुई फरक मुद्दामा दाङ जिल्ला अदालतबाट ५ वर्ष कैद र ५ हजार रुपैयाँ जरिवाना तथा कपिलवस्तु जिल्ला अदालतबाट १० वर्ष कैद र ७५ हजार रुपैयाँ जरिवाना गरी कुल १५ वर्ष कैद र ८० हजार रुपैयाँ जरिवानाको सजाय पाएका थिए।
कैद भुक्तानका लागि कारागार चलान गरिएका यादव २०८२ भदौ २४ गते जेनजी आन्दोलनको क्रममा तुलसीपुर कारागारमा भएको तोडफोडका क्रममा फरार भएका थिए।
विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय गणेशपुरबाट प्रहरी निरीक्षक महेश कुमार आचार्यको नेतृत्वमा खटिएको टोलीले उनलाई कपिलवस्तुको बिजयनगर गाउँपालिका–४ स्थित जौलाही चोकमा लुकीछिपी बसेको अवस्थामा असार १४ गते पक्राउ गरेको प्रहरीले जनाएको छ।
पक्राउ परेका यादवलाई असार १५ गते कपिलवस्तु जिल्ला अदालतमा उपस्थित गराई कारागार कार्यालय कपिलवस्तु पठाइएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।
प्रकाशित: १६ असार २०८३ ११:४४ मंगलबार


-600x400.jpg)


-600x400.jpg)