जेनजी आन्दोलनका क्रममा झुम्का कारागारबाट फरार भएका जबरजस्ती करणी मुद्दाका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सुनसरीको देवानगञ्ज गाउँपालिका–१ निवासी ३० वर्षीय भरतलाल मेहता रहेका छन्।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार उनलाई आइतबार बिहान ८ः३० बजे सुनसरीको रामधुनी नगरपालिका–५ स्थित शिवचोकबाट पक्राउ गरिएको हो।
अस्थायी प्रहरी चौकी मध्यहर्षाहीबाट खटिएको प्रहरी टोलीले खोजतलासका क्रममा उनलाई फेला पारी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
मेहताविरुद्ध सुनसरी जिल्ला अदालतले २०८१ असार ३० गते जबरजस्ती करणी मुद्दामा १० वर्ष कैद सजाय सुनाएको थियो। उनले ५ वर्ष ३ महिना कैद भुक्तान गरिसकेको र अझै ४ वर्ष ९ महिना कैद भुक्तान गर्न बाँकी रहेको प्रहरीले जनाएको छ।
भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा उनी झुम्का कारागारबाट फरार भएका थिए।
पक्राउ परेका मेहतामाथि आवश्यक कानुनी प्रक्रिया पूरा गरी पुनः झुम्का कारागार पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
प्रकाशित: ६ मंसिर २०८३ १७:४० आइतबार



-600x400.jpg)

