सशस्त्र प्रहरीले बैतडीको पञ्चेश्वरबाट २१ लाख रुपैयाँभन्दा बढी मूल्यका अवैध सामान बरामद गरेको छ।
पञ्चेश्वर गाउँपालिका–४ हल्दुविनायकबाट चिनी, मिश्री लगायतका किराना सामानसहित ढुवानीमा प्रयोग भएका दुईवटा सवारीसाधन नियन्त्रणमा लिइएको हो।
सशस्त्र प्रहरी बल नम्बर ५१ गुल्म हेडक्वाटर बैतडीका सशस्त्र प्रहरी नायब उपरीक्षक जङ्गबहादुर कुँवरका अनुसार आइतबार बिहान ३ बजेतिर भारतबाट भन्सार छली ल्याइएका सामान बरामद गरिएको हो।
नियन्त्रणमा लिइएका सामान, बोलेरो पिकअप र ट्याक्टरको कुल मूल्याङ्कन २१ लाख ८ हजार ८१० रुपैयाँ गरिएको छ।
प्रहरीले २३ क्विन्टल चिनी, ५ क्विन्टल मिश्री र अन्य विभिन्न किराना सामान बरामद गरेको छ। सामान ढुवानीमा प्रयोग गरिएको सुपप्र ०१-००१ च २७८९ नम्बरको बोलेरो पिकअप र सुपप्र ०१-००२ त ५०९० नम्बरको ट्याक्टरलाई पनि प्रहरीले नियन्त्रणमा लिएको सशस्त्र प्रहरी नायब उपरीक्षक कुँवरले जानकारी दिए।
विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी निरीक्षक रमेशप्रसाद पाण्डेयको नेतृत्वमा खटिएको मोबाइल टोलीले ती सामग्री बरामद गरेको हो।
‘केही दिन पहिलेदेखि भन्सार छलीका सामान भित्रिँदैछन् भन्ने गोप्य सूचना पाएका थियौँ,’ कुँवरले भने, ‘सोही आधारमा खटिएको टोलीले जाँचबुझ गर्दा ती सामान फेला पारेको हो।’
भन्सार छलीका सामान भित्र्याउने कार्यमा संलग्न व्यक्तिहरू भने प्रहरी टोलीलाई देख्नेबित्तिकै फरार भएका थिए। बरामद गरिएका अवैध सामान र सवारीसाधनलाई आवश्यक कारबाहीका लागि महाकाली भन्सार कार्यालय झुलाघाट बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।
प्रकाशित: २९ चैत्र २०८२ १६:२० आइतबार





