लागु औषध नियन्त्रण ब्यूरोले पोखराबाट ठुलो परिमाणमा लागु औषधसहित ५ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।
लागु औषध नियन्त्रण ब्यूरो पोखरा र इलाका प्रहरी कार्यालय डाँडाको नाकको संयुक्त टोलीले पोखरा महानगरपालिका-३२, मजवाबाट उनीहरूलाई पक्राउ गरेको हो। भारतबाट दर्ता नम्बर भएको कारभित्र लुकाएर ल्याउँदै गर्दा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार कारबाट 'बुप्रेनोर्फिन, डाइजेपाम र फेनारगन' का १८ सय थान एम्पुल र ५१० थान ट्रामाडोल क्याप्सुल बरामद भएको छ।
पक्राउ पर्नेमा भारतको गोरखपुर क्षेत्रका २७ वर्षीय बिकास कुमार, २९ वर्षीय बर्जिल पासवान, ३३ वर्षीय अभय कुरार मिश्र, ३३ वर्षीय प्रितम कुमार र २५ वर्षीय अभिषेक कुमार पासवान रहेका छन्।
प्रहरीका अनुसार बरामद गरिएको लागु औषधसहित भारतीय नम्बर प्लेटको कार (युपी ५३ वाई ७७०४) र ५ थान मोबाइल नियन्त्रणमा लिइएको छ। पक्राउ परेका सबैलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कास्कीमा पठाइएको प्रहरीले जनाएको छ।

प्रकाशित: २९ असार २०८३ १६:२८ सोमबार





