२२ श्रावण २०८३ शुक्रबार
image/svg+xml
अपराध

माछाको भुरामा ७२ लाख भ्रष्टाचार, तत्कालीन कार्यलय प्रमुखसहित ४ जनाविरुद्ध मुद्दा दायर

नक्कली किसान र झुट्टा कागजात बनाएर सरकारी रकम हिनामिना गरेको आरोपमा जिल्ला कृषि विकास कार्यालय धनुषाका तत्कालीन कार्यालय प्रमुखसहित चार जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले माछाको भुरा वितरण गर्न आएको अनुदान रकममा ७२ लाख ५९ हजार ९० रुपैयाँ हिनामिना गरेको आरोपमा तत्कालीन कार्यालय प्रमुख सुकेश्वर झा, लेखापाल रामचन्द्र ठाकुर, प्राविधिक सहायक देवेन्द्रलाल कर्ण र सुदिश माछापालन केन्द्रका प्रोप्राइटर राम सुदिश शरण विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो।

अख्तियारले आर्थिक वर्ष २०७४/०७५ मा कृषि विकास रणनीति अनुगमन तथा समन्वय कार्यक्रम अन्तर्गत माछाको भुरा वितरणका लागि विनियोजित २ करोड ३४ लाख २८ हजार रुपैयाँमध्ये ठूलो परिमाणको रकम दुरुपयोग भएको अनुसन्धानबाट खुलेको अख्तियारले जनाएको छ।

सरकारी फार्मबाट खरिद गर्नुपर्ने माछाको भुरा निजी फार्मबाट खरिद गरिएको, प्राप्त नै नभएको भुरालाई प्राप्त भएको देखाइएको तथा नक्कली बिल, भरपाई र किसानको नाममा झुट्टा कागजात तयार गरी सरकारी रकम भुक्तानी गरिएको पुष्टि भएको अख्तियारले जनाएको छ।

अख्तियारका अनुसार भुरा नपाएका किसानको नाममा समेत वितरण भएको झुट्टा विवरण तयार गरिएको थियो। नक्कली नाम, ठेगाना, वितरण विवरण र हस्ताक्षरसहितका कागजात बनाएर ७२ लाख ५९ हजार ९० रुपैयाँ बराबरको सरकारी रकम अनियमित भुक्तानी गरेको आरोपपत्रमा उल्लेख छ।

आयोगले चारै जनाविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम समान ७२ लाख ५९ हजार ९० रुपैयाँ बिगो कायम गर्दै कैद, जरिवाना र बिगो असुलउपरको मागदाबी गरेको छ।

निजी फार्मका सञ्चालक राम सुदिश शरणलाइ मतियार बनाएर गैरकानुनी लाभ लिएको अभियोग पत्रमा उल्लेख छ।

प्रकाशित: २६ असार २०८३ १७:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App