भारतीय युवा सुनको सिक्री लुट्न सक्रिय भएको पाइएको छ । रुपन्देहीमा प्रहरीले गिरोह नै पक्राउ गरेपछि प्रहरीले सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।
रुपन्देहीका विभिन्न स्थानमा सुनका गरगहना लुटपाटका घटना बढेसँगै रुपन्देही प्रहरीले अनुसन्धान थालेको थियो । केही दिन अघि तिलोत्तमा नगरपालिका ४ ड्राइभरटोलमा बाटोमा हिँडदै गर्दा मोटरसाइकलमा आएका व्यक्तिहरुले एक जना स्थानीयको घाँटीबाटै सुनको सिक्री थुतेर भागेका थिए ।
सोही घटनाको अनुसन्धानकै क्रममा जिल्लाका विभिन्न स्थानबाट चोरी तथा लुटपाटमा संलग्न ४ जना भारतीय र १ जना नेपालीलाइ प्रहरीले पक्राउ गरेको छ । उनीहरुको साथबाट सुनका गरगहना र चोरीमा प्रयोग भएको मोटरसाइकल बरामद भएको छ ।
पक्राउ पर्नेमा भारतको गोरखपुर बस्ने ३२ बर्षीय राहुल जयवाल, भारत महाराजगञ्जका २२ बर्षीय प्रिन्स जयसवाल, भारत विहारका ३० बर्षीय नितेशकुमार गुप्ता र सिद्धार्थनगर नगरपालिका ५ बस्ने ३२ बर्षका प्रदिप कान्दु छन्।
उनीहरुको साथबाट प्रहरीले २.९९ लाल ७ पोइन्ट तौल भएको सुनको सिक्री १ थान, ९० लाल ७ पोइन्ट तौल भएको सुनको सिक्री १ थान बरामद भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक निशान्त श्रीवास्तवले जानकारी दिए ।
उनीहरुले चोरीमा प्रयोग गरेको लु ६५ प २९३१ नम्बरको मोटरसाइकल पनि प्रहरीले बरामद गरेको छ ।
यो समूहले यही असार १० गते तिलोत्तमा नगरपालिका ४ ड्राइभरटोल स्थित चाँदनी मार्गमा बाटोमा हिडीरहेको अवस्थामा एक जना महिलाले घाँटीमा लगाएको सिक्री थुतेर भागेका थिए । मोटरसाइकलमा आएका उनीहरुले घाँटीको सिक्री चुटाएर भागेपछि स्थानीयले प्रहरीलाइ खबर गरेका थिए । चोरीकै लागि भारतका बिभिन्न स्थानबाट नेपाल आउने र आफनो टिममा केही नेपाली य’वालाइ सामेल गराएर नेपाली नम्बरको मोटरसाइकल प्रयोग गरी चोरीमा संलग्न हुने गरेको पाइएको प्रहरीले जनाएको छ ।
प्रकाशित: १९ असार २०८३ १५:५९ शुक्रबार





