गमबुटको विषयमा भएको सामान्य विवाद आवेशमा परिणत हुँदा ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकामा दाइले भाइको हत्या गरेका छन्।
हत्या अभियोग लागेका दाइलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालयका प्रमुख डिसपी बेदप्रसाद गौतमका अनुसार आठराई त्रिबेणी गाउँपालिका वडा नं ४ चाँगेका २२ वर्षीय मनकुमार विकले आफ्नै भाइ २० वर्षीय रोशन विकको धारिलो हतियार प्रहार गरी हत्या गरेका हुन्।
दाइ मनकुमारले भाइ रोशनलाई खुकुरीले पेटमा प्रहार गरी निर्मम हत्या गरेको प्रहरीले जनाएको छ। प्रहरीले मनकुमारलाई खुकुरीसहित नियन्त्रणमा लिएको जनाएको छ।
प्रहरी स्रोतका अनुसार दाइ मनकुमार र भाइ रोशनबिच गमबुटका विषयमा सामान्य विवाद भएको थियो। सामान्य भनाभनका क्रममा दाइ मनकुमारले भाइ रोशनलाई खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ।
प्रकाशित: १७ श्रावण २०८२ ०९:३३ शनिबार





